निर्वाचन खर्चलाई फजुल मानिदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण गर्न नमिल्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई नहेर्न भनेका हुन ।

निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उनको भनाई थियो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्नेमा पनि उनले जोड दिए । संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकास तर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको अर्थमन्त्री पौडेलको भनाई थियो । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाई गलत भएको र पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुनेमा पनि उनले जोड दिए ।

जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको उनको भनाई थियो । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिए ।

प्रतिक्रिया