माघ २३ गते प्रधानमन्त्री ओली समूहले काठमाडौंमा जनसभा गर्दै

काठमाडौं । आगामी माघ २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंमा जनसभा गर्ने भएको छ । आज बागमती प्रदेश संगठन कमिटीको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्राप्त जानकारी अनुसार रत्नपार्कको जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको नेतृत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

आज पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा प्रचण्ड–माधव नेपाल समूहले मुलुक व्यापी अराजक, अस्थिरता र हिंसात्मक प्रर्दशन गर्ने चेतावनी दिएकाले चुप लागेर बस्न नहुने उल्लेख छ ।

‘संविधानमा भएको व्यवस्था अनुसार विघटन भएको प्रतिनिधिसभालाई पुनःस्थापनाको माग गर्दै प्रचण्ड–माधव नेपाल समूहले मुलुक व्यापी अराजक, अस्थिरता र हिंसात्मक प्रर्दशन गर्ने चेतावनीसहित सडक संघर्ष गरिरहेका छन्’, उक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको विरोध गर्नु र आन्दोलन गर्नु उसको धर्म हो, संविधानविरोधी दक्षिणपन्थीहरुले मौकाको फाइदा उठाउँदै मुलुकलाई अस्थिरितातिर जान खोजेको वर्तमान अवस्थामा नेकपा चुप लागेर बस्नु हुँदैन र बस्दैन, यतिबेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बारेमा वास्तविकता जनतालाई जानकारी दिनु हाम्रो कर्तव्य र दायित्व दुबै भएको छ ।’

प्रतिक्रिया