खोजखबर

लक्षित वर्गले पाएनन् राज्यको सुविधा

पूर्णप्रसाद न्यौपाने २०७७ माघ १२ गते ७:५८ मा प्रकाशित

संघीयको कार्यान्वयनसँगै स्थानीय तहको संरचना निर्माणका कार्यहरू भए पनि ओखलढुंगाका लक्षित वर्ग भने राज्यबाट प्राप्त गर्नुपर्ने सेवाबाट वञ्चित छन् । एक त लक्षित वर्ग विशेष कार्यक्रम नै कम छन्, त्यसमा पनि उनीहरूको सहभागितासमेत शून्यजस्तै हुँदा राज्यको साथ पाउनुपर्ने वर्ग नै सेवाबाट वञ्चित भएका हुन् । यसअघि २०५५ सालको स्थानीय स्वायत्त शासन ऐनअनुसार तत्कालीन अवस्थाका स्थानीय निकायले अभ्यास गरिरहेको लक्षित वर्ग कार्यक्रमलाई संघीय शासन व्यवस्थामा झनै सहज र पहुँचयोग्य बनाउने भनिए पनि लक्षित वर्गले स्थानीय तहहरूबाट सामान्य सेवा लिनसमेत समस्या भोग्नुपरेको हो । भौतिक विकासका कामलाई प्राथमिकता दिएका स्थानीय तहले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र दलित तथा अल्पसंख्याकको हितमा अपेक्षित काम नगर्दा लक्षित वर्ग सेवामा पछि परेको महसुस भएको हो ।

प्राप्चाकी वेदमाया तामाङ तीन वर्षअघि रुखबाट लडेर घाइते भइन् । लामो समय अस्पतालमै बसेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार त भयो तर शरीरको तल्लोभाग राम्रोसँग चलेन । अपांगता कार्ड भए उपचारमा छुट र संघसस्थाबाट सहयोग हुने आश्वासन पाएपछि कार्ड बनाउन छोरीको सहारा लिएर सदरमुकाम पुगेकी तामाङ दुई दिन बसेर रित्तो हात घर फर्किइन् । साविकको महिला तथा बालबालिका कार्यालयले वितरण गर्ने अपांगता परिचयपत्र स्थानीय तहमार्फत जारी हुने सूचना मात्रै लिएर फर्किएर उनी मोलुङ गाउँपालिका पुगिन् । त्यहाँ उनको काम नहुने भन्दै फेरि महिला तथा बालबालिका कार्यालय नै जान भनियो यताउता गर्दे उनी सेवाबाट वञ्चित भइन् ।

गाउँपालिकाले अपांगता पहिचान र परिचयपत्र वितरणसम्बन्धी मापदण्ड नबनाएकाले तत्काल काम नहुने भनेपछि कागजातसहितको निवेदन दिएको दुई वर्ष बिते पनि हालसम्म कार्ड नपाएको उनकोे गुनासो छ । ‘हामी नियमका कुरा त त्यति जान्दैनौँ पहिला महिला विकासले कार्ड दिन्थ्यो रे म अपांगता भएपछि राज्यको सेवा लिन पाइन्छ कि भनेर सदरमुकाम गएँ त्यो कार्यालय नै उठेछ’, उनले भनिन्, ‘वडा र पालिकामा जानुस् त्यहाँबाट हुन्छ भनेर फर्काइदिए झन् आफ्नै गाउँमा पाइने भयो भनेर आएको यहाँ आउँदा पछिपछि भनेर अहिलेसम्म दिएनन् । अब त माग्न जान पनि मन लागेन ।’ साविकको महिला तथा बालबालिका कार्यालयले गर्ने सबैजसो लक्षित वर्ग विशेष काम स्थानीय तहबाटै हुने व्यवस्था छ । ओखलढुंगाका अधिकांश स्थानीय तहले आवश्यक नीति र कार्यविधि नबनाउँदा लक्षित वर्ग सेवाबाट वञ्चित हुँदै आएको छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा आउने भन्ने सुनेकी ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेकी हेमकुमारी वाग्लेलाई संघीयता आएपछि आफूहरूका सबैजसो समस्या समाधान हुने आशा थियो । स्थानीयस्तरमा सरकार आयो, निर्वाचन भयो, जनप्रतिनिधि चुनिए तर हेमकुमारीहरूको आशा पूरा भएन । ‘लामो समयपछि स्थानीय चुनाव भएको अब त सबै समस्या समाधान गर्छौं भन्नेहरू चुनाव जितेपछि फर्किएनन् । हामीलाई जुन व्यवस्था आए पनि उही रहेछ,’ उनले भनिन् । स्थानीय तहको निर्वाचनताका दलका नेताको प्रतिबद्धता र घोषणापत्रले स्थानीय तहबाट झन् बढी सेवाको अपेक्षा थपिएको थियो । त्यो अपेक्षाअनुसार काम नभएको आवाज उठ्न थालेको छ ।

ओखलढुंगामा श्रीमान् गुमाएका, हराएका, सम्बन्धविच्छेद गरेका र विवाह नगरी बसेका एकल महिलाको संख्या हजारौँ छ । एकल महिलाका पीडा र समस्या थुप्रै छन् र उनीहरूका एकल महिलासँग आशा पनि त्यत्तिकै छन् । उनीहरूलाई आर्थिक, सामाजिक र अन्य विविध समस्या छन् । राज्यले लक्षित वर्गको सूचीमा राखेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, दलित र एकल महिलाका लागि विगतमा शीर्षक नै छुट्याएर रकम विनियोजन गर्ने चलन थियो । अहिले स्थानीय तहले लक्षित वर्ग विशेष कार्यक्रम कम गरेको मोलुङ गाउँपालिका–१ कुन्तादेवीका डुका धमलाले बताइन् ।

जिल्लामा महिला अधिकारका लागि एकल महिला संघ छ । एकल महिलाको क्षेत्रमा बजेट विनियोजन गर्न स्थानीय तहलाई सुझाएको भए पनि सुनुवाइ नभएको एकल महिला संघकी अध्यक्ष पेमडोले बताइन् । ‘एकल महिलाका हितमा त कार्यक्रम नै छैनन् । महिलाको बजेट कताकाहीँ देखिन्छ तर शीर्षक मिलाएर अन्यन्त्रै खर्च हुन्छ त्यो रोक्न सकिएन,’ शेर्पाले भने, ‘महिला पनि हिँड्छन् भनेर सडकमा रकमान्तर गर्ने वा एक दिनको सामान्य कार्यक्रम गरेर पैसा सक्ने चलन देखिन्छ ।’ व्यावसायिक बन्न चाहने एकल महिलाको लागि अनुदानको व्यवस्था गर्दै एकल महिला लक्षित कार्यक्रम बढी मात्रामा सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

लक्षित वर्गअन्तर्गत महिलाको क्षेत्रमा मात्र नभई दलित लक्षित कार्यक्रम पनि आझेलमा छन् । स्थानीय तह भएसँगै आफूहरू लक्षित कुनै कार्यक्रम नभएको सिद्धिचरण नगरपालिका–२ की सुमित्रा मङ्ग्रातीले बताइन् । स्थानीय तहबाट सञ्चालन भएको कुनै कार्यक्रमबारे आफूलाई जानकारी नभएको र अहिलेसम्म सहभागी नभएको उनले सुनाइन् । सामान्य कार्यक्रम दलितका क्षेत्रमा सञ्चालन भए पनि त्यसमा टाठाबाठाको हालीमुहाली हुने उनको आरोप छ ।

बालबालिकाको क्षेत्रमा समेत बजेट विनियोजन हुन छाडेको छ । कुनै बेला बालबालिकाको क्षेत्रमा विनियोजन भएको बजेट बालबालिका आफैँले उपयोग गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने गर्थेँ । तर अहिले स्थानीय तहबाट बालबालिकाको क्षेत्रमा कार्यक्रम कम प्राथमिकतामा पर्ने गरेका छन् । पहिले आफूहरू महिला तथा बालबालिका कार्यालयको आयोजनामा बालबालिकाको लक्षित भएका विभिन्न कार्यक्रममा सहभागी हुने गरेको बताउँदै अहिले त्यस किसिमको कार्यक्रम नभएको सिद्धिचरण नगरपालिका–९ की अनिता बानियाँले बताए । गत वर्ष आफूहरूले बालबालिकाको क्षेत्रमा कार्यक्रम माग गर्दै वडा कार्यालयमा निवेदन दिएको भए पनि सुनुवाइ नभएको उनले बताए ।

संघीय संरचनासँगै अपांगता भएका वर्ग पनि ओझेलमा परेका छन् । संघीय संरचना हुनुभन्दा पहिले अपांगता भएका क्षेत्रका लागि लक्षित कार्यक्रम सञ्चालन भएको भए पनि अहिले सम्पूर्ण अधिकार स्थानीय तहमा आएसँगै जिल्लाका कुनै पनि स्थानीय तहले अपांगता लक्षित कार्यक्रम सञ्चालन नभएको समावेशी समाजका लागि विकलांग मञ्च ओखलढुंगा अध्यक्ष गोपालमान थापाले बताए । कोरोनाको कहरमा यस्ता व्यक्तिलाई निकै समस्या परेको नियमित औषधि सेवन गर्नेहरूले औषधि नपाएको हिँडडुल गर्न सहज हुने सामग्रीसमेत नपाउँदा समस्या रहेको उनले बताए । कतिपय स्थानीय तहमा अपांगता भएका वर्गले पाउने परिचयपत्रसमेत पाउन कठिन छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापकी शर्मिला कार्की स्थानीय तह आएसँगै लक्षित वर्गको क्षेत्रमा बजेट नै विनियोजन हुन छाडेको बताए । शुरुमा स्थानीयतह हुनुभन्दा पहिले महिलाहरूको क्षेत्रमा आएको बजेटमा भएका विभिन्न कार्यक्रममा आफूहरू सहभागी भएको सम्झना गर्दै अहिले महिलाको क्षेत्रमा हुने कार्यक्रममा बजेट प्राथमिकतामा नपरेको उनले गुनासो गरे । महिलाको नाममा बजेट विनियोजनको माग हरेक कार्यक्रममा हुन्छ तर सम्बोधन नभएको धेरैको गुनासो छ । केही बजेट विनियोजन भए पनि लक्षित वर्गको क्षेत्रमा विनियोजन भएको बजेट लक्षित वर्गले उपयोग गर्न पाएका छैनन् । लक्षित वर्गलाई आफ्नो क्षेत्रमा बजेट विनियोजन भएको जानकारी नै नहुने समस्यासमेत छ ।
जिल्लाका सबै आमा समूहलाई नेतृत्व गर्ने जिल्लास्तरमा आमा समूह सञ्जाल छ । आमा समूहले सामुदायमा महिला हिंसाविरुद्धमा विभिन्न सचेतनाका कार्यक्रम पनि गर्दै आएका छन् । विगतका वर्षमा आमा समूह सञ्जाललगायत सामुदायमा रहेका आमा समूहको समभागितामा महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि अहिले यस्तो अवस्था नरहेको जिल्लास्तरीय आमा समूह सञ्जालकी अध्यक्ष शान्ता मगरले बताइन् । स्थानीय तहसँग पटकपटक लक्षित वर्गको लागि बजेट विनियोजन भनिएको भए पनि लक्षित वर्गको कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन नभएको उनले बताए । जिल्लामा महिला हिंसाका घटना बढिरहेको अवस्थामा अझ बढी सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको तर्क छ ।

स्थानीय तहहरूले भने लक्षित वर्गका लागि विभिन्न कार्यक्रम ल्याएको र लागू गरेको दाबी गर्ने गरेका छन् । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले पालिकाका विपन्न, असहाय, एकल महिला, महिला, बालबालिका, ज्येष्ठ नागरिक र लक्षित वर्गका लागि नीति तथा कार्यक्रम राखेर कार्यान्वयन गरेको उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन् । ‘पर्याप्त त भएन होला तर हामीले प्रयास गरिरहेका छौँ,’ उनले भनिन्, ‘नगरपालिकाले असहाय, अनाथ, सुस्त मनस्थिति भएका र संरक्षणविहीन बालबालिकाका लागि तथ्यांक संकलन गरेर संरक्षण गर्ने नीति लिएको छ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकको उपचार र बालबालिकाका लागि पनि कार्यक्रम समेटेको उनले बताइन् ।

जिल्लाका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रममा महिला, एकल महिला, र दलित महिलाका लागि स्वरोजगार बनाउनेलगायतका कार्यक्रम राखेका छन् तर अधिकांश कार्यक्रममा बजेट विनियोजन छैन । जिल्लाका स्थानीय तहहरूले आफ्ना नीति तथा कार्यक्रममा लक्षित वर्गलाई सम्बोधन गरे पनि कार्यान्वयन नहुँदा लक्षित वर्गका नागरिक निराश छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय