वैदेशिक लगानी प्रतिवद्धता घट्यो

काठमाडौं । विदेशी लगानी प्रतिवद्धता घटेको छ । उद्योग विभागमा आएको पछिल्लो ५ महिनाको लगानी प्रतिवद्धताले त्यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा लगानी प्रतिवद्धता करिब १५ प्रतिशत भन्दा बढीले घटेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ६८ करोड लगानी प्रतिवद्धता आएको थियो । यो गत वर्षको भन्दा कम लगानी प्रतिवद्धता हो ।

चालु आर्थिक वर्षको मंसिरसम्म विदेशी लगानी प्रतिवद्धता २१ अर्ब ११ करोडमा सीमित भएको छ । मंसिरसम्म भएको विदेशी लगानी प्रतिवद्धता गत आवको तुलनामा २२.९ प्रतिशत र उद्योग दर्ता २५ प्रतिशतले कम हो । गत आवको पहिलो ५ महिनासम्म १ सय ४४ उद्योगमा कुल २७ अर्ब ३८ करोड २० लाख लगानी भएको थियो । समीक्षा अवधिमा सो लगानी घटेर २१ अर्ब ११ करोड ५० लाख सीमित भएको छ भने उद्योगको संख्या पनि घटेर १ सय ८ मा सीमित भएको छ ।

पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानीमा सुधार भने हुन सकेको देखिदैन । चालु आवमा लगानी प्रतिवद्धता घट्नुका साथै विभिन्न कारणमध्ये कोभिड–१९ लाई पनि दोष दिइएको छ । नेपालमा जलविद्युत्, पूर्वाधार, कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ ।

उद्योगी व्यवसायीले उद्योग दर्तादेखि लगानीको स्वीकृति, भिसा लिने, मुद्रा सटही गर्ने लगायत सबै काम एकल विन्दु सेवाबाट गर्न सकिने व्यवस्था पनि विभागले मिलाएको छ । तर, पनि लगानी प्रतिवद्धतामा उत्साह देखिएको छैन । औद्योगिक व्यवसाय ऐन–२०७५ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योग भनेर विभागले दर्ता गर्छ ।

हरेक वर्ष प्रतिबद्धताभन्दा कम लगानी भित्रिनु भनेको उनीहरुको आत्मविश्वास गुम्दै जानु हो । सरकारले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली २०७७ कार्यान्वयनमा ल्याएको छ । यसमा भएको केही सुविधाले पनि लगानीकर्ता आकर्षित हुन सक्ने सरकारको विश्वास छ । अहिले लगानी घटेपनि आवको अन्त्यसम्म बढ्ने विभागका महानिर्देशक जिवलाल भुसालको भनाई छ । यद्यपि विगत ५ वर्षको विदेशी लगानीको प्रतिवद्धतामा भने लगानीमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक २०७३/७४ मंसिरसम्म ३ अर्ब ९९ करोड ८० लाख रहेकोमा अहिले बढेर २१ अर्ब ११ करोड पुगेको छ । त्यसको पछिल्लो वर्ष २०७४/७५ मा एकै पटक बढेर १३ अर्ब १४ करोड लगानी प्रतिवता भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आएर फेरि विदेशी लगानी घटेको थियो । गत आवमा सो लगानी बढेपनि अहिले आएर फेरि घटेको छ ।

प्रतिक्रिया