बलात्कार गरेको आरोपमा ट्राफिक जवान पक्राउ

बुटवल । सामूहिक बलात्कार गरेको आरोपमा रूपन्देहीमा एक ट्राफिक जवान पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–५ भैसहीमा बाटोमा हिँडिरहेकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवान विशाल शर्मालाई पक्राउ गरेको हो । गत २३ कात्तिक साँझ साढे आठ बजेतिर भैसहीका दुई जना महिलामध्ये एक जनालाई नग्न बनाएर फोटो खिच्ने र एक जनालाई शर्मासहित चार जनाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शर्मालाई पक्राउ गरेको हो । शर्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीमा दरबन्दी भई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले शर्मासँगै उक्त घटनामा संलग्न गुरुचरण चौधरी पनि पक्राउ परेको बताए । बलात्कारमा संलग्न थप दुई जना फरार रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका दुवैजना कपिलवस्तुको वाणगंगाका रहेको र फरार रहेका दुई जना भने भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।

शर्मा सहितको टोलीले बाटो हिँडिरहेका दुई दिदीबहिनी मध्ये बहिनीलाई नग्न बनाएर तस्बिर खिचेको र दिदीलाई चारै जनाले बलात्कार गरेको खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले पीडित परिवारले ८ माघमा मात्रै उजुरी गरेपछि घटना अहिले बाहिर आएको बताए । उजुरी पर्नासाथ आरोपितलाई पक्राउ गरी आइतबार थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको उनले बताए ।

प्रतिक्रिया