गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।’ नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिकरुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।

उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पुँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभइ विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादन मूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।

भर्चुअलरुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा। हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।

प्रतिक्रिया