कोरोना खोप बनाउने उत्पादक कम्पनीमा आगलागी, हजार करोड बराबरको क्षति

काठमाडौं । भारतस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबर क्षति भएको छ। कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन्।

तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताए। सिरम कम्पनीमा बिहीबार भीषण आगलागी हुँदा ५ जनाको मृत्युसमेत भएको थियो। कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं। तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो।’

यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच परिवारका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया