प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन आज

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनका विरुद्ध विभिन्न खाले संघर्षको कार्यक्रम गर्दै आएको यो पक्षले काठमाडौंमा जुलुस र सभा आयोजना गरेको हो।

शुक्रबारको जुलुस विभिन्न ९ ठाउँबाट सुरुवात हुने छ। जुलुसहरुको नेतृत्व गर्न स्थायी कमिटी सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ।

सबै जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुनेछ। त्यसपछि उक्त जुलुस रत्नपार्क–बागबजार–पुतलीसडक–प्रदर्शनी मार्ग–भद्रकाली–सहिदगेट–एनएसी–भोटाहिटी–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ।

यसअघि सडक प्रदर्शनका लागेका नाराहरु विवादित भएपछि प्रचण्ड–माधव पक्षको केन्द्रीय संघर्ष समितिले निर्धारित नारा मात्रै लगाउन निर्देशिका जारी गरेको छ। सभालाई सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले सम्बोधन गर्नेछन्। विरोध जुलुस र सभा शान्तिपूर्ण हुने प्रचण्ड-नेपाल पक्षले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया