निजगढ विमानस्थल बस्ती व्यवस्थापन चुनौती

बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना क्षेत्रभित्र पर्ने बस्ती व्यवस्थापन विमानस्थल निर्माणको मुख्य चुनौतीका रूपमा रहेको बताइएको छ । विमानस्थल निर्माणको क्षेत्र भित्र रहेको टाँगिया बस्तीमा १ हजार ४ सय ७६ घरधुरी बसोवास रहेका कारण उनीहरूको कि त स्थानान्तरण गर्नुपर्ने नत्र आधारभूत पूर्वाधार विस्तार गर्नुपर्ने माग गर्दै आएका छन् । त्यसले पनि विमानस्थल निर्माणमा अहिले बस्ती चुनौतीपूर्ण बनेको हो । आयोजनाका अधिकारीहरू भने बस्ती व्यवस्थापनको टुंगो लागेर कामले गति लिनेमा ढुक्क छन् । बस्ती व्यवस्थापनमा ढिलाइ गर्दा उक्त क्षेत्रमा दिनदिनै घर संख्या बढ्दै गएका छन् । घरसंख्या बढ्दा आयोजना तथा स्थानीयवासी दुवैका लागि चुनौती थपिँदै गएको छ ।

विमानस्थल क्षेत्रको बीच भागमै रहेको टाँगिया बस्तीमा आठ हजारभन्दा बढी मानिसको बसोवास रहेको छ । उक्ते क्षेत्र ६ सय ५० भन्दा बढी बिघामा फैलिएको छ । ०३०÷३१ सालतिर फिनल्यान्ड सरकारको सहयोगमा पुरानो रुख कटान गरी पुनः वृक्षरोपण गर्ने भनेर पश्चिमी पहाडबाट करिब १ सय ५० घरधुरीलाई ल्याएर त्यहाँ बसाएको बताइने गरिएको छ । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि त्यो हुन नसक्दा अहिलेको टाँगियाबस्तीले स्थायी रूप लिन पुगेको हो । जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने उक्त बस्तीका बासिन्दा चार दशकदेखि सुकुम्वासी नै भएर बस्नुपरेकोले अन्यत्र सारिने ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकी लगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाँगियाबस्ती सरोकार समितिले संघर्ष गर्दै आइरहेको छ ।

विकास कार्यमा बाधा नपु¥याउन बस्ती छोड्न तयार रहे पनि सरकारले हालसम्म अपहेलना मात्रै गरेको बस्तीकी टुकाकुमारी अधिकारीले गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले पशु समान व्यवहार गरेको छ हामीसँग । खानेपानी लिन अहिले पनि घण्टौँ कुर्नुपर्छ । पीडैपीडाको थुप्रो मात्रै छ यहाँ । कि त हामीलाई सरकारले स्थानान्तरण गरोस् कि हामीलाई सबै सुविधा यहीँ दिलाओस् ।’ उपमहानगरपालिका भए पनि त्यहाँका वासिन्दाले अहिले पनि निकै चुनौती खेप्दै आएका छन् । अहिलेसम्म पनि त्यहाँ आधारभूत आवश्यकता जनताले पाउन सकेका छैनन् ।

किशोरकिशोरीहरूले पनि विभिन्न समस्याबाट गुज्रिनुपरिरहेको बताएका छन् । कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी मौसमी विश्वकर्माले भनिन, ‘जंगलको बाटो भएर एक घण्टा टाढाको स्कुल डराइडराइ जाने गरेका छौँ । ‘बिजुली बत्ती नहुँदा पढ्न लेख्न र सुरक्षित बस्न समस्या छ ।’ स्थानीयले निकै माग गर्दा पनि त्यहाँ बिजुली बत्ती पुग्न सकेको छैन । नगरपालिका भित्रैको दुर्गम जस्तै यो बस्ती । स्थानान्तरण पनि नगरेको र सबै गतिविधि रोक्का गरिदिएकाले अन्योलमा बाँच्न बाध्य भएको स्थानीय पवित्रमाया कार्कीले गुनासो गरिन् । उनले भनिन, ‘जमिन बैंकमा धितो राखेर छोराछोरीले पैसा झिकेर कतै बाहिर काम वा पढाइका लागि जान खोज्दा पनि समस्या छ । धितो राखेर ऋण दिन पनि टाँगियावासीलाई कसैले पत्याउँदैन ।’

विमानस्थल आयोजना कार्यालयले ०७४ सालमा तयार गरेको वातावरणीय प्रभाव मूल्यांकन इआइए प्रतिवेदनमा टाँगियाँबस्तीमा १ हजार ४ सय ७६ घरधुरी रहेको उल्लेख भएको थियो । तर, अहिले उक्त क्षेत्रमा परिवार संख्या वृद्धि भएर घरधुरी संख्या दुई हजार नाघेको बताइएको छ ।
यसरी सरकारले बस्ती व्यवस्थापन ढिलो गरेमा अर्को वर्ष झन् वृद्धि हुनपुग्ने टाँगियावस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताए । उनले भने, ‘गाँसवासको व्यवस्था गर, घरको व्यवस्था गर । कमाउने आधार देउ, माटो लेउ माटो नै देउ भन्ने हाम्रो माग हो ।’ उनले आफ्ना मागका बारेमा बताए ।

विमानस्थल आयोजना कार्यालयले टाँगियावस्तीमा नयाँ घरहरू निर्माणमा रोक लगाएको दाबी गर्दै, थपिएका घरहरूको जिम्मा नलिने जनाउँदै आएको छ भने उता टाँगियाबस्तीको हकमा भने बस्ती व्यवस्थापनको ढाँचा कस्तो रहने भन्ने विषयमा निर्णय हुन नसक्दा काम अगाडि बढ्न नसकेको बताइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराका प्रवक्ता विजय यादवका अनुसार बस्ती व्यवस्थापनका लागि गृहकार्य धेरै भइसकेको तर निर्णय केही भएको छैन । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी इन्फ्रा–बिडिए जेभीलाई जिम्मेवारी दिइएको छ । सो स्थानमा पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रुख गणनालगायत काम भइरहेको प्राधिकरणले जनाएको छ । (बिबिसी)

प्रतिक्रिया