रहेनन् लोकगायक बानियाँ

काठमाडौं । लोक दोहोरी गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । बानियाँको बुधबार बिहान ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । केही वर्षयता मिर्गौला फेल भएपछि बानियाँले डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल लगिएको रत्नका भतिज राजुले जानकारी दिए ।

तीन दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय बानियाँ स्याङ्जाको फेदीखोलामा जन्मिएका थिए । सयौं गीतमा आवाज दिएका उनको ‘लडाइको लाहुरे’ निकै चलेको एल्बम हो । उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य दर्जनौं लोकगीत निकै चर्चित छन् । उनले सालैजो, रोइला तथा भजन संग्रहसमेत ल्याएका छन् । उनले झरना संगीत रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आएका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बानियाँको निधनले नेपाली लोकदोहोरी क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए । स्वर्गीय बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

प्रतिक्रिया