उद्योगी कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएसगै कारबाही गरेको हो ।

विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि जरिवाना गरिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईले बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारबाही गरिएको बताए । उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन÷तीन लाख जरिवाना गरिएको हो ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैया,सनफलावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० रुपैया भन्दा बढीले मूल्य बढाइएको थियो । अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशन पालना नगरे कानून अनुसार थप कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया