‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ भित्र घोत्लिँदा

तेजविलास अधिकारी

डा. भोला थापा एउटा प्राध्यापक, विषय इन्जिनियरिङ । उहाँले पछिल्लो समय एउटा पुस्तक प्रकाशनमा ल्याउनुभएको छ, ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ । शीर्षक हेर्दा सामान्य पाठकका लागि होइनझैँ लाग्छ । पुस्तकभित्र पस्न कतिले नचाहलान् वा पसेर पनि कतिले स्वाद लिन सक्लान् ? पाठकको रुचि र समयमा भरपर्ने कुरा हो । पुस्तक इतिहास लेखनसँग सम्बन्धित छ । कार्लाइल महोदयले लेखेको पढेको थिएँ, ‘महान व्यक्तिको जीवनी नै इतिहास हो ।’ झलक्क सम्झिएँ । महान् व्यक्तित्व त्यसलाई भनिन्छ जसले सामूहिक स्वार्थ, राष्ट्रको हितको निम्ति वा बहुजनका निम्ति आफ्नो जीवन खर्च गरे ।

हाम्रो प्रचलन महान् व्यक्ति भन्नेबित्तिकै राजा, महाराजा वा शासक भन्नेतर्फ गहहाल्छ । मेरो दृष्टिमा त्यसो नभई त्यागी तपस्वी अर्थात् विधागत महत्वपूर्ण योगदान गर्ने व्यक्ति नै महान् हो । व्यक्ति जहाँ कहीँ जन्मिन सक्छ । उसले कुनै न कुनै रूपमा समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिएको छ भने त्यो सभ्यताको गुरु हो । आदरणीय व्यक्तित्व हो । मूलतः ती र त्यस्ता व्यक्तित्वहरुको सोच–विचार र व्यवहारले संस्था बन्छ । त्यस्ता संस्थाहरूले विश्वस्तरमा ज्ञान विज्ञान फैल्याउने काम गर्दछन् । काठमाडौं विश्वविद्यालय एउटा राम्रो उदाहरण हो । नेपालमा छोटो समयमा महान् शैक्षिक उपलब्धि हासिल गराउन सफल विश्वविद्यालयको कोटिमा काठमाडौं विश्वविद्यालयले खेलेको भूमिका प्रशंसालायक छ । हजारौँ युवा करोडौँ मोल तिर्दा पनि देशभित्र पढ्ने ठाउँ थिएन । त्यसको परिपूर्तिका निम्ति खुलेको काठमाडौं विश्वविद्यालयको एउटा शैक्षिक क्षेत्र हो इन्जिनियरिङ फ्याकल्टी ।

डा. सुरेशराज शर्मा, डा. सीताराम अधिकारी, डा. भद्रमान तुलाधर जस्ता इमान्दार शिक्षा क्षेत्रका प्राज्ञहरूको श्रम, सीप र सोचले नेपालमा धेरै ठूलो सम्पत्ति मात्र रोकिएको छैन । आज हजारौँको संख्यामा रोजगार सफल युवाहरूलाई सोध्ने हो भने चाहे बैंकिङ, चाहे इन्जिनियरिङ, चाहे मेडिसिन काठमाडौं विश्वविद्यालयको उत्पादन हुँ भनेर गर्वले उत्तर दिन्छन् । त्यही त हो उपलब्धि । काठमाडौं विश्वविद्यालयको एउटा शैक्षिक पाटो इन्जिनियरिङ कार्यक्रमको जगदेखि गजुर हाल्ने बेलासम्म थुप्रै प्राज्ञहरूले महत्वपूर्ण योगदान दिएका छन् । त्यसको प्रामाणिक सूची मात्र होइन त्यस अवस्थामा ल्याउन गर्नु परेको सङ्घर्षका पर्याय डा. भोला थापाले आफ्नो कृतिमार्फत् विश्वविद्यालयको गरिमालाई पाठकको सामु पेश गर्नु भएको छ यस पुस्तकमा ।

पुस्तकभित्र धेरै विषय छन् । पुस्तकको शीर्षकबाट केन्द्रीय विषयलाई ओझेल पर्न दिइएको छैन । आवरणमा रहेको छविछायाले पनि यहाँ अग्रजहरूको संस्थागत योगदानको विशेष महत्व अभिव्यक्त गरिएको छ । प्रविधिको विशेष क्षेत्रलाई संस्थागत रूपमा देखाउँदै उन्नत नेपालको सपना देखाउने एउटा सन्त प्रा. इन्गे योहान्सनको सम्मानमा लेखिएको जस्तो लाग्ने यो उपयोगी पुस्तकले सच्चा गुरुको सम्मानमा ज्ञानको विस्तार गर्ने अठोट गरेको छ ।

डा. भोला थापा

पुस्तकको अन्त्यमा परिशिष्टमा झण्डै तीन पृष्ठको प्रा. इन्गे योहान्सनको सङ्क्षिप्त व्यक्तिकृतमा आँखा पुग्दा श्रद्धाले पाठकको मन भारी मात्र हुँदैन सिङ्गो काठमाडौं विश्वविद्यालयको शैक्षिक यात्रा समेत पुस्तकमा झल्किएको छ । नेपालको सन्दर्भमा हेर्दा काठमाडौं विश्वविद्यालयको स्थापना, विकास र यसले पुर्याएको योगदान शब्दमा वर्णन गर्न सकिने खालको छैन । काठमाडौं विश्वविद्यालयको विकास र विस्तारमा नर्वेजियन सहकार्य, अड हफ्टनले पु¥याउनु भएको योगदान कति महत्वपूर्ण भएछ भन्ने विषय कथाजस्तै लाग्छ । एउटा व्यवस्थित योजनाले कसरी प्रभावकारी परिणाम दिन्छ त्यो हेर्न नर्वेजियन सरकार र नेपालको शैक्षिक सहकार्य हेर्नुपर्छ । कर्मलाई नै आफ्नो परिचयको आधार बनाउने सफल विद्वान्को सम्मानमा विश्वविद्यालयले गरेको सम्मान सुन्दा हामी नेपाली हुनुको नाताले छाती विशाल हुन्छ ।

नेपालको जलविद्युत उत्पादन, नवीन प्रविधिको अन्वेषण, नेपालको संस्थागत प्रविधिको पाटोमा पुगेको योगदानको विषयवस्तु बुझ्न यो पुस्तक कोशेढुङ्गा सावित हुन्छ । काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ फ्याकल्टीको त यो दस्तावेज नै हो । सन् १९९४ देखि आफूलाई काठमाडौं विश्वविद्यालयमा नै समर्पित गर्नुभएका डा. भोला थापा उहाँको काम गर्ने शैली र अथक प्रयासको प्रतिबिम्ब पनि यस पुस्तकमा देख्न सकिन्छ । आकर्षक आवरण, १६ पेजको विविध सन्दर्भ र मूल पाठ १६० पेजको रहेको छ ।

डिमाइ साइजको पुस्तकको लेखन, प्रकाशन र भाषा सम्पादनमा धेरै नै श्रम गरिएको छ । नेपालको इन्जिनियरिङ क्षेत्रका एक विशिष्ट व्यक्तित्व डा. भोला थापाले आफ्नो बौद्धिक श्रमले पुस्तकको पाना पाना लछप्पै भिजाउनुभएको छ । पुस्तकमा अनुसन्धानको शृङ्खलामा काठमाडौं विश्वविद्यालयले पु¥याएको योगदान र विश्वविद्यालयहरूले विश्वस्तरमा गर्न सक्ने सहकार्य कति प्रभावकारी हुन्छ भन्ने एउटा सफल उदाहरण पुस्तकको पठनबाट लिन सकिने मूल बोधको पक्ष हो ।

प्रतिक्रिया