कमलपोखरीमा किन विवाद ?

काठमाडौं । ऐतिहासिक कमलपोखरी निर्माणमा विवाद सिर्जना भएको छ । पुनःनिर्माण कसरी गर्ने भन्नेमा काठमाडौं महानगरपालिका र सामाजिक अभियान्ताहरुबीच विवाद देखिएको हो । महानगरले पूर्वसहमति अनुसार क्रंकिट प्रयोग गरेको बताएको छ भने अभियान्ताहरुले क्रंकिट प्रयोग गर्न नहुने बताएका छन् । यो विवाद बढ्दै गएपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेर परम्परागत शैलीमा बनाउन भनेको थियो ।

तर, सोमबार राति डोजर लगाएर माटो ओसार्ने प्रयास भएको अभियान्ताहरुले बताएका छन् । कमलपोखरी निर्माणमा मौलिक सामग्री प्रयोग नगरी ऐतिहासिक एवं पुरातात्विक महत्व नाश हुने गरी काम गर्न लागेको देखिएकाले काम रोक्न महानगरपालिकालाई पत्राचार गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

पत्राचार गरिएकै राति ११ बजे कमलपोखरीबाट माटो निकालेर अन्यत्र ओसारेको विषयमा पनि विभागमा जानकारी आएको उनले सुनाए । सोमबार राति डोजर लगाएर माटो ओसारेको खबर पाएपछि सम्पदाप्रेमीको समूह कमलपोखरी पुगेको थियो । कमलपोखरीलाई पनि रानीपोखरीकै बाटोमा लैजान खोजेको भन्दै सम्पदाप्रेमीले बागदरबारस्थित महानगर कार्यपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

प्रदर्शनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महानगर प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नभेटेपछि पत्र दर्ता गरेर छोडिएको छ । पत्र बुझ्नुहुँदै महानगर उपप्रमुख खड्गीले बजेट निर्माण गर्दा पुरानै स्वरुपमा काम गर्ने गरी राखिएको बताइन् ।

माटो झिकिएको कमलपोखरीको बुधबार स्थलगत अध्ययन गरिने पनि विभागले जनाएको छ । पोखरी निर्माणका लागि २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले ढुंगाको अभाव भएर काममा ढिलाइ भएको बताए ।

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययनबिना नै सिमेन्ट र कंक्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाएका छन् । कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासी माझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षातमा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौ दहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ पनि यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

प्रतिक्रिया