कोभिशिल्ड खोप यसैसाता आउने !

काठमाडौं । कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’को यसै साता नेपाल आउने भएको छ । भारतले सहयोगमा उपलब्ध गराउन लागेको खोप विहिवार नेपाल आउने भएको स्रोतले जानकारी दिएको छ । भारतले सहयोगमा दिने खोपको निर्यात बुधबारबाट शुरु गर्दैछ । भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई दिने निर्णय भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

भारतमा रहेको सिरम कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोप शुक्रबार नेपालमा पनि आपतकालीन अनुमति पाएको थियो । गत शनिवारदेखी भारतमा यसको आपतकालिन प्रयोग शुरु भईसकेको छ । मंगलबारसम्म त्यहा चार लाख ५४ हजार ४९ जनाले खोप लगाईसकेका छन् । नेपालमा सहयोगबापतको कति डोज खोप आउने भनेर एकिन भएको छैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार करिव एक लाख जति आउने बताएको छ । सो खोप नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा कोरोना भाइरस पहिलो पल्ट देखिएको एक वर्षमा यसको खोप आउन लागेको हो । खोप आएको एकसाता भित्रमा लगाउन शुरु गरिने मन्त्रालयले जानकारी दिएको छ । सुरुमा प्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई दिइने सरकारले स्पष्ट गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं । नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं ।’

गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा खोप लगाउन मन्त्रालयले तयारी गरिरहेको छ । सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए । तर, भारतले उपलब्ध गराउने सहयोगको बाहेकको खोप नेपाल कहिले आउने भनेर एकीन हुन सकेको छैन ।
भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय मंगलबार गरेको छ । त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसअनुसार बुधबार पहिलो चरणमा भुटानलाई सहयोग पठाइन लागेको छ । विहिवार बंगलादेश र सम्भवत त्यही दिन वा शुक्रबार नेपालले पनि सहयोग पाउनेछ ।

खोप भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । धेरै खोप राख्न भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ । कोरोना खोप नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो । ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो ।

यसैबीच, भारतले कोभिड–१९ विरुद्धको खोपसम्बन्धी नेपालसहित ६ देशका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंगोलियालाई कोभिड भ्याक्सिनसम्बन्धी पहिलो प्रशिक्षण प्रशिक्षण दिइरहेको छ । भर्चुअल माध्यमबाट मंगलबार र बुधबार प्रशिक्षण संचालन भईरहेको छ । उक्त तालिम लिएपछि प्रशिक्षकहरूले भ्याक्सिन अभियानमा सहभागी हुने अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिनेछन् ।

प्रतिक्रिया