खोजखबर

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

सौर्य अनलाइन २०७७ माघ ६ गते १८:२३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।

नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।

कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौं अवतरण गर्नेछ ।

मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छन् । निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताए ।

चार्टर्ड उडान भए पनि पहिलोपटक नयाँ गन्तव्यमा उड्न पाउँदा उत्साहित भएको निगमले भविष्यमा मकाउको बजार अध्ययन गरी यात्रुको अवस्था राम्रो भएमा सिधा उडान गर्ने योजना बनाएको छ ।

‘मकाउमा चार्टर्ड उडानमा निगमको जहाज प्रयोग भएकामा र उडान सहजीकरण र समन्वयका लागि भूमिका खेल्ने महावाणिज्यदूतावासप्रति आभार प्रकट गर्दछौँ’, प्रवक्ता श्रेष्ठले भने । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय