ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौं । हिमालय एयरलाइन्सको विमान परीक्षण उडानका लागि ल्हासा प्रस्थान गरेको छ। एच९-९६१ कलसाइनको विमान मंगलबार बिहान ७:१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ल्हासा पुगेको हो। उक्त विमान त्यहाँको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय बिहान १०:४६ बजे अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ। परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने व्यवसायिक योजना अनुरुप नै भएको कम्पनीले जनाएको छ।

ल्हासाबाट पुनः फिर्ती उडान गरी विमान नेपाली समय २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने तयारी छ। क्याप्टेन हाओ दीलेको नेतृत्वमा अरु वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडान भइरहेको कम्पनीले जनाएको छ।

चालक दलले ल्हासास्थित विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने बताइएको छ। परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाईका लागि उडान भर्न एच९-एजेके नाममा दर्ता भएको न्यारोबडी हवाई जहाज ए३१९-११५ प्रयोगमा ल्याएको थियो।

१२० इकोनोमी र ०८ बिजनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्ट उच्च उचाइको उडान भर्नको लागि परिमार्जित गरेको कम्पनीले जनाएको छ। विमानले अधिकतम १४ हजार ५०० फिटसम्मको एरोड्रम उचाइको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ।

‘हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तो उच्च उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो। आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ,’ हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भने।

प्रतिक्रिया