‘सगरमाथा’ माथि धावा बोल्ने अधिकार कसले दियो ?

चमिना भट्टराई

भारत कहिले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्छ कहिले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्दै दादागिरी गर्छ । तैपनि नेपालका शासक किन भारतीय सत्तासँग शिर झुकाउँछन् । केही दिनअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संशोधित नक्सा नभएको पुरानै बुच्चे नक्सा भएको ब्यानरमुनि उभिएर भाषण गरे ? किन त्यो बुच्चो नक्सा भएको ब्यानर सच्याउन लगाइएन ?

भारतीय च्यानल जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीको नेतृत्वमा रहेकोे टोलीले अबैध रूपमा नेपालको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेर ‘माउन्ट एभरेस्ट’को नाम परिवर्तन गर्ने भन्दै केही दिनअघि धावा बोले । उनले सगरमाथाको नाम मात्रै परिवर्तनको कुरा गरेका छैनन्, सगरमाथा माथि भारतले स्वामित्व दाबी गर्न अभियान चलाएको समेत बताए । यसको आसय भारत सगरमाथा माथि स्वामित्वका लागि अभियान चलाउँदै छ । नेपालका लागि यो निकै गम्भीर विषय हो ।

सम्पादक चौधरीको टोली नेपालमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिई प्रसारण आफ्नो च्यानलमा गरेर सगरमाथाको आधार शिविर गएका थिए । तर, उनी कसरी कुन माध्यमबाट त्यहाँसम्म पुगे भन्ने विषयमा सो सम्बन्धी जिम्मेवार निकाय कसैले पनि थाहा छैन मात्रै भनेको छ । उनी त्यहाँबाट फर्केर दिल्लीमा पुगी सारा दुनियाँले थाहा पाउने गरी भिडियो प्रसारण गरे पनि मात्रै जिम्मेवार निकायले चाल पाए ! यो भन्दा अजिब कुरा के हुन सक्छ । सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पुगेको थाहा नपाउने कस्तो जिम्मेवार निकाय ? त्यसो भए कति सुरक्षित छ हाम्रो सामरिक महत्वका स्थान ?

प्रधानमन्त्रीको अन्तर्वार्ता लगत्तै चौधरीको टोली सिम्रिक एयरको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा पुगेको थियो । त्यहाँ पुगेर उनले नेपालको सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद भिडियो तयार गरेका थिए । उनी त्यहाँसम्म पुगेर सामग्री तयार गरी प्रसारण गर्दासम्म नेपालका सम्बन्धित निकायले कुनै पत्तो नपाएको समाचार आएसँगै भारतको हेपाहा चरित्र फेरि उदांगिएको छ । चौधरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिविनै निकुञ्ज क्षेत्रभित्र कसरी प्रवेश गरेर र त्यसका बारेमा त्यहाँ रहेको आधिकारिक निकायले किन चाल पाएन ? विचारणीय पक्ष छ ।

राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका अनुसार संपादक चौधरीको टोलीले प्रवेश शुल्क, हेलिकोप्टर ल्यान्डिङ शुल्क नतिरिएको मात्रै होइन, निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न अनुमतिसमेत लिएको देखिँदैन । अनुमतिविना निकुञ्ज क्षेत्रभित्र हेलिकोप्टर ल्यान्डिङ हुनु सामान्य कुरो होइन । मान्छे हिँडेर वा लुसुक्क निकुञ्ज प्रवेश गरेको छैन । हेलिकोप्टरको आवाज त त्यहाँका कर्मचारीले सुन्नुपर्ने हो । हेलिकोप्टर देख्नुपर्ने हो । होइन भने उक्त निकुञ्ज कति असुरक्षित रहेछ सामान्य रूपमा पनि अनुमान लगाउन सकिन्छ ।

उनले सगरमाथाको आधार शिविरमा तयार गरेको सामग्रीमा सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका छन् । चौधरीले रिपोर्टमा भारतले माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर स्वामित्व दाबी गर्नुपर्ने बारेमा अभियान चलाएको समेत बताए । उनको सामग्री बजेसँगै सामाजिक सञ्जाल लगायतबाट भारतीय उक्त च्यानलको व्यापक रूपमा विरोध भएको छ । एकातिर विनाअनुमति निकुञ्ज क्षेत्र प्रवेश गर्नु र अर्कोतर्फ नेपालको सामरिक महत्व बोकेको भूमिमा टेकेर नेपालको सार्वभौमिकतामाथि चुनौती दिनु सामान्य कुरा होइन । यसका लागि उनले कोसँग सेटिङ मिलाएर त्यहाँ पुगे खोजिको विषय बन्नुपर्छ । सम्पादक चौधरीको टोली आफ्नै सुरमा विनातयारी पक्कै पनि त्यहाँ पुगेका छैनन् । त्यसमा उनलाई माथिल्लो निकायबाट पक्कै सहयोग भएको हुनुपर्छ । कतै सेटिङकै कारण स्थानीय प्रशासन र निकुञ्जका कर्मचारीले थाहा न पाएका त होइनन् ?

जी न्युजको टोलीले एयरपोर्टबाट सोझै निकुञ्ज क्षेत्रमा रहेको कालापत्थरमा हेलिकोप्टर ल्यान्डिङ गरी रिपोर्ट बनाएर फर्किंदासम्म त्यसको बारेमा सुइँको पाउन नसक्ने कर्मचारीले त्यस क्षेत्रको सुरक्षा कसरी गर्लान् ? वा उक्त क्षेत्रमा यसअघि पनि त्यस्ता गतिविधि भए कि भएनन् होला ? प्रश्न धेरै छन् । नेपालीले समेत अनुमति नलिइकन क्यामरा लैजान नपाउने उक्त संवेदनशील क्षेत्रमा कसरी भारतीय च्यानल पुग्यो ? चौधरी एक्लैको आँटले त्यो काम पक्कै पनि भएको छैन । प्रधानमन्त्रीको अन्तर्वार्तासँगै उनी कसरी त्यहाँ पुगे । नेपालको सार्वभौमिकतामाथि धावा बोले ? त्यसका बारेमा सरकारी तर्फबाट किन कुनै प्रतिक्रिया आउँदैन ?

चौधरीले छायांकन गरेको क्षेत्र नेपाल–चीनबीच सामरिक हिसाबले संवेदनशील क्षेत्रमा पर्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कालापत्थर तथा सगरमाथा आधार शिविर रणनीतिक हिसाबले थप महत्वपूर्ण ठाउँ हो । त्यस्तो ठाउँमा एउटा विदेशी हेलिकोप्टरमा गएर आफूलाई मनलाग्दा तस्बिर भिडियो बनाएर प्रसारण गर्दासम्म निकुञ्जले पत्तो पाउँदैन ? यसलाई विश्वास गर्न निकै गाह्रो छ । अझ रोचक कुरा के भने, नागरिक उड्डयन प्राधिकरणसँग समेत उक्त टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा क्षेत्रमा गएको कुनै रेकर्ड छैन रे ! त्यसो हो भने कसरी कुन बाटो हुँदै वा कसलाई छक्काएर उनीहरू त्यहाँ पुगे ?

निकुञ्ज प्रवेश गर्न विभिन्न नियम पालना गर्नुपर्छ । तर, सम्पादक चौधरीको टोलीले त्यस्तो केही पनि गर्नु परेन । सुनिन्थ्यो पञ्चायती शासनमा राजाको परिवार वा आफन्तले कुनै पनि निकुञ्ज जान वा सिकार गर्न सक्थे । मुलुकमा गणतन्त्र छ । अनेक प्रकारका नियम कानुन छ । एउटा सामान्य नेपालीले उक्त स्थानमा जानु प¥यो भने अनेक झन्झट बेहोर्नु पर्छ । जी न्यूजका सम्पादकको टोलीलाई किन त्यति सारो मनपरि गर्न छुट ? कहिँ कतै प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरे वापतको उनलाई उपहार स्वरूपमा अवसर त होइन त्यो । अहिले निकै चर्चाको विषय बनेको छ ।

टोली सगरमाथा पुगेर फर्कंदासम्म त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयसँग उनीहरू त्यहाँ गएको कुनै प्रमाण छैन । सुधीर चौधरी र पाल्की शर्मा उपाध्याय सगरमाथा क्षेत्रमा गएको प्यासेन्जर मेनिफेस्टोमा पनि छैन रे ! त्यसो भए उनीहरू त्यहाँ पुगे कसरी ? यसअघि चीनसँग जोडिएको उक्त क्षेत्रमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई पनि यसैगरी त्यहाँ पुगेको चर्चा चलेको थियो । समाचारहरूमा सगरमाथा राष्ट्रिय निकुञ्ज स्रोतले भने अनुसार ‘अलिक पहिले ‘रअ’ प्रमुख पनि आएका थिए । गुल्ममा उनी बसे र त्यहीँबाट कालपत्थर पुगेर फर्केका हुन् । भन्ने कुरा उल्लेख छ ।

चाहे ‘रअ’का प्रमुख सामन्त गोयल हुन वा सम्पादक चौधरीको टोली अनुमतिविना कुनै सरकारी कार्यालयको अभिलेखमा न देखिने गरी लुसुक्क कालापत्थर पुगेर फर्किएको विषय नेपालका राष्ट्रियता सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद अभिव्यक्ति दिनु मजाकको विषय होइन । त्यस क्षेत्रमा जाने नै हो भने, नेपालको प्रचलित नियम पु¥याएर जानुपर्छ । जानु ठूलो कुरा होइन तर, उनीहरू त्यहाँ कसरी कुन प्रक्रियाबाट पुगे र त्यहाँ गएर के बोले कुरा त्यो हो । यसमा जसरी सर्वसाधारण नागरिकले चासो दिएका छन् त्यसै गरी राज्यले बोल्नुपर्छ । मुलुकको सार्वभौमिकताको रक्षा गर्नु राज्यको दायित्व हो । कसलै आफ्नै मुलकको माटोमा उभिएर सार्वभौमिकतामाथि धावा बोल्दा मुस्कुराएर बस्नु भनेको मुलुकप्रतिको गद्दारीपन हो ।

अहिले सवाल कालापत्थरमा उभिएर एक विदेशी नागरिकले नेपालमा सार्वभौमिकतामाथि औँला उठाएको हो । चौधरीले सगरमाथाको पवित्र हावाको झोक खाँदै शिरमा उभिएर मुलुकमाथि नै धावा बोलेका हुन् । इतिहास साक्षी त एउटा भारतीय नायकले नेपाल मन पर्दैन भन्दा स्वभिमानी नेपालीले सडक तताएका थिए । अहिले नेपालको मात्रै होइन विश्वको सर्वोच्च शिखर नेपालको हो सारा जगतलाई थाहा भइरहेको विषयमा उनी किन त्यसो भनिरहेका छन् ?

कुरा यतिमा मात्रै सीमित छैन । भारत कहिले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्छ कहिले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्छ । तैपनि नेपालका शासक किन भारतीय सत्तासँग शिर झुकाउँछन् ? केही दिनअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संशोधित नक्सा नभएको पुरानै बुच्चो नक्सा भएको ब्यानरमुनि उभिएर भाषण गरे ? किन त्यो बुच्चो नक्सा भएको ब्यानर सच्याउन लगाइएन ? हो यस्तै यस्तै विषयले हामी हाम्रै कारण हेपिएका छौँ । अब पनि नेपालको सार्वभौमिकता माथि औँला ठडाउने काम गरियो भने सानो मुलुकका स्वाभिमानी हामी नेपाली चुप लाग्नेवाला छैनौँ चेतना भया ।

प्रतिक्रिया