नेपालमा कोरोनाको नयाँ भाइरस

काठमाडौं । बेलायत लगायत युरोपेली मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा पनि देखिएको छ । पुषको पहिलो साता नेपाल फर्किएका १९३ जनामध्ये तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको हो । उनिहरु तीनै जनाको स्वाब संकलन गरी पुष २७ गते हङकङको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार उनिहरुको रिपोर्ट आएको र तीनै जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखिएको जनाएको छ । बेलायतबाट फर्किएका मध्ये २८ वर्षीया महिला, ३२ वर्षीय पुरुष र ६७ वर्षीय पुरुषमा सो भाइरस पुष्टि भएको हो । तीन जनामध्ये ६७ वर्षीय पुरुषमा अझै संक्रमण देखिएको छ । यद्यपी उनमा कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । तर, अन्य दुई जनामा भने अहिले कोरोनाको संक्रमण देखिएको छैन । उनिहरु यसअघि नै रिपोर्ट नेगेटिभ आएपछि बेलायत फर्किसकेका छन् ।

बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो । हङकङ प्रयोगशालाले सोमबार इमेलमार्फत एनपीएचएललाई पठाएको रिपोर्टमा बेलायतमा देखिएकै नयाँ स्वरूपको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन ।

अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै हाल प्रयोगमा आएका भ्याक्सिनहरूले बी–११७ विरुद्ध पनि काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरू पनि भइरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ । छिमेकी देश भारतमा पनि यो भाइरस भेटिरहेको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा सबैभन्दा बढि संक्रमित भेटिएको छ ।

बेलायतबाट आएका तीन जनामा भेटिएपनि युवाअवस्थाका दुई जना संक्रणमुक्त भईसके, एक वृद्ध अझै संक्रमित तर लक्षणमुक्त, भयावह अवस्था हुन सक्ने भन्दै मास्क र सामाजिक दुरी अनिवार्य गर्न अपिल

नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएसँगै विज्ञहरुले दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्डलाई झनै कडाइका साथ पालना गर्नुपर्ने बेला आएको बताए । ‘पहिला नै नेपालमा नयाँ कोरोना आएको अनुमान थियो तर, यो कुरा बल्ल पुष्टि भयो’ उनले भने, ‘पहिलेभन्दा ७० प्रतिशत बढीले जोखिमपूर्ण हुने भएकाले नयाँ कोरोनाबाट सावधान हुनुपर्ने हुन्छ किनभने यसको फैलने गति तीव्र हुन्छ ।’
नयाँ प्रजातिको भाइरसले अहिले विकसित गरिएको खोपको प्रभावकारितालाई पनि चुनौति दिने पुनले बताए । ‘अहिले विद्यालय, सिनेमा घर र बजार खोलिएको अवस्था छ’ उनले भने, ‘अब यी थलोमा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ । नागरिक स्वयम् सचेत नहुने हो भने भोलि कठिन पर्नसक्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि नयाँ जातको कोरोनाभाइरस भेटिएसँगै नागरिक थप सतर्क हुनुपर्ने बताए । ‘यसले दोस्रो वेभको खतरातर्फ संकेत गरेको छ’ गौतमले भने, ‘किनभने अहिले बजार, विद्यालय र कार्यालय खुलिसकेको अवस्था छ र भीडभाड बढेको छ । यस्तो अवस्थामा नयाँ भाइरसको फैलावट बढी हुन्छ ।’ इटाली, जर्मनी र बेलायतमा जस्तो हताहतको स्थिती आए पुनः नियमनको दिशातर्फ सरकार जान सक्ने पनि उनले जनाए । संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको उनले बताए । ‘भोलि स्थिती भयावह बन्न थाल्यो भने पुनः नियमन गर्ने स्थितीतर्फ अघि बढ्न सकिन्छ’ उनले भने, ‘अहिले खुलेका विद्यालय, फिल्म हल र कार्यालय पुनः बन्द हुनसक्छन् ।’ खोपभन्दा महत्वपूर्ण मास्क भएको समेत गौतमले बताए ।

प्रतिक्रिया