बजेट पासै नगरी खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिँदा पनि १३ स्थानीय तहले बजेट पास नगरी खर्च गरिरहेका छन । स्थानीयले तहले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको १० असारसम्म बजेट पास गरिसक्नु पर्ने कानुनी व्यवस्था थियो । तर, अधिकांश स्थानीय तहले समयमै बजेट ल्याउन नसकेको भन्दै चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि १३ स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् । अहिलेसम्म बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक/एक, प्रदेश २ का ८ र कर्णाली प्रदेशका २ वटा छन । आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म सबै स्थानीय तहले अन्तरसरकारी संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयरमार्फत बजेट पेस गरेका थिए । गत वर्ष ४ खर्ब ४ अर्ब रुपैयाँको बजेट ल्याएका स्थानीय तहहरूले ३ खर्ब २० अर्ब रुपैयाँ खर्च गरेका थिए ।

सबै स्थानीय तहले गत वर्ष सूत्र प्रणालीमार्फत आय–व्यय विवरण प्रविष्ट गरेकाले यो रकम देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सूत्र प्रणालीमा प्रविष्ट नगरेको बजेटलाई मान्यता दिँदैन । कतिपय स्थानीय तहले बजेट सभामा पेस गरेपनि सूत्रमा प्रविष्ट नगरेकोलाई बजेट पेस नगरेको मान्ने गरिउको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताएका छन ।

अहिलेसम्म ७ सय ५३ मध्ये ७ सय ३९ स्थानीय तहले सूत्रमा बजेट प्रविष्ट गरेका छन । यसमा ७ सय ३१ वटा स्थानीय तहले आम्दानी प्रविष्ट गरेका छन् भने ७ सय २८ स्थानीय तहले खर्चको विवरण रकम सूत्र प्रणालीमा प्रविष्ट गरेका छन् । राजस्व बाँडाफाँट प्रविष्ट गर्ने स्थानीय तहको संख्या भने ५ वटा मात्रै छ । यी ५ वटा स्थानीय तहले आम्दानी, खर्चसहित राजस्व बाँडफाँट पनि सूत्र प्रणलीमा प्रविष्ट गरेका छन् ।

प्रतिक्रिया