रसिकले ल्याए ‘बेलबहादुरसँग बिहे’

काठमाडौं । कथाकार जितेन्द्र रसिकद्वारा लिखित ११औं पुस्तक बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ बजारमा आएको छ । कोरोना कहरको संक्रमणलाई ख्याल गर्दै एडुकेसनल पब्लिसिङ हाउसका रमण राउत, शितल सुकुभटु र कथाकार रसिकले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे । नेवारी परम्परामा आधारित इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतीक बनाएर कथा लेखिएको छ । पुस्तकमा इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधानसमेत खोज्ने कोशिस गरिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्पराभित्र लुकेको सामाजिक क्रान्तिको विषयलाई कलात्मक रुपमा पुस्तक उधिनिएको छ । बालमनोविज्ञानमा आधारित रहेर लेखिएका कथाले संस्कृतिसँगै काठमाडौं उपत्यकाको सामाजिक जनजीवनलाई नियाल्न सघाउ पुग्ने कथाकार रसिकले बताए ।

एडुकेसनल पब्लिसिङ हाउसका रमण राउतले कथा मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने बताए । त्यस्तै, डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने जिकिर गरे । संवादात्मक ढंगले तयार गरिएका चित्रकथा निकै रसिक पाराले प्रस्तुत गरिएको छ । कथाकार रसिकले रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुति रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा निकै लोकप्रिय हुने बताए । ‘बेलबहादुरसँग बिहे’ चित्रकथामा चित्रकार एकाराम सिंले चित्र बनाएका छन् । चित्रकथा एडुकेसनल पब्लिसिङ हाउसले सार्वजनिक गरेको हो । रंगीन चित्रसहितको चित्रकथा ३६ पृष्ठ रहेको यस पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया