भारतबाट खोप आउन ढिलाइ हुने !

काठमाडौं । भारतमा बनिरहेको कोभिड–१९ विरुद्धको खोप ल्याउन समय लाग्ने देखिएको छ । सरकार टु सरकार सप्लाईमा भारतले केही समय अझै लाग्न सक्ने संकेत गरेको हो । भारतभित्रै खोपको आवश्यकताको आकंलन गरेपछि मात्रै अन्य देशमा सप्लाई गर्ने बारेमा फैसला गर्ने भएको छ । नेपालले भारतबाट एक करोड बढि खोप ल्याउने प्रयास गरिरहेको छ । त्यसमा भारत सकरात्मक बनेपनि खोप कहिले दिने भनेर एकिन मिति तय गर्न सकेको छैन । भारतले छिमेकी देशलाई उपलब्ध गराउन भनेर गरेको प्रतिवद्धताअनुसार चाडो भन्दा चाँडो दिने कोशिस गरिरहेको जानकारी दिएको छ । अहिलेसम्म भारतबाट ब्राजिलले मात्रै खोप लिन सफल भएको छ । ब्राजिलले कोशिसिल्ड खोप उत्पादनकर्ता सिरम इन्स्टिच्युटसँग सम्झौता गरेर खोप लिएको हो ।

भारतले पहिलो चरणमा खोप नेपाल, बंगलादेश, माल्दिभ्स लगायतका देशलाई अग्रसूचिमा राखेको छ । भारतीय सरकरी अधिकारीका अनुसार देशमा खोपको सहजीकरण भएपछि मात्रै अन्य देशलाई प्रतिवद्धताअनुसार खोप दिने तयारी भईरहेको बताएको छ । जसका कारण नेपालमा खोप आउन चैत्र वा बैशाख कुनुपर्ने देखिएको छ । सिरमले मासिक ७ देखि ८ करोड खोपको उत्पादन गर्दै आएको छ । जसले गर्दा भारतमै खोप लगाउने व्यक्तिलाई अपुग हुने देखिएको छ ।

भारतले शनिवारबाट सो खोप लगाउने अभियान शुरु गरिसकेको छ । नेपालले भने फागुनको अन्त्यसम्म खोप पाउने आशा व्यक्त गरेको छ । त्यसका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका विदेशमन्त्री एस. जयशंकरसँग वार्ता समेत गरेका छन् । वार्तामा भारतले चाँडै खोप उपलब्ध गराउने प्रतिवद्धता भने व्यक्त गरेको थियो ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ प्रतिशतभन्दा कम रहेका छन् । आइतबार कोरोना भाइरसका २६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार सय जना संक्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४४ जना संक्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ९१९ जनामा भाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ जना संक्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ जना संक्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ९१९ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया