अर्थतन्त्रलाई गति दिन खर्च बढाऊ : मुद्रा कोष

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अर्थतन्त्रलाई गति दिन खर्च बढाउनुपर्ने बताएको छ । आइएमफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जेभाले रुसको गैदर इकोनोमिक फोरमलाई सम्बोधन गर्ने क्रममा त्यस्तो बताएकी हुन् । क्रिस्टालिनाले कुनै पनि विशेष अनुमान प्रस्तुत नगरिकनै सबै सरकारले खर्च बढाएको खण्डमा त्यसले अन्तर्राष्ट्रिय व्यापार, श्रम÷रोजगारी, आपूर्ति श्रृंखला सुचारु हुने उल्लेख गर्दै त्यसले विश्व अर्थतन्त्रको वृद्धिदर उकास्नेमा जोड दिएकी थिइन । कोभिड–१९ महामारीबाट आक्रान्त अर्थतन्त्रमध्ये ८३ मुलुकले आइएमएफको सहयोग लिएका छन् । सहयोगको क्रम पनि जारी रहेकोले अहिलेको अवस्थामा खर्च नै अर्थतन्त्रको लागि उपयुक्त भएको भन्दै उनले उनले आफूले सबैलाई खर्च गर्न आग्रह गरेको प्रस्ट पारेकी थिइन ।

अहिलेको अवस्थामा आइएमएफले कुनै विशिष्ट नीति भन्दा पनि खर्च गर्न आग्रह गरिरहेको छ । क्रिस्टालिनाले भनेकी छिन, ‘ यो असामान्य बेला हो । पहिले जति सकिन्छ त्यो खर्च गर्ने त्यसपछि क्रमशः बढाउँदै लैजानुपर्छ ।’ सरकारको खर्चले आर्थिक गतिविधि बढ्छ, त्यसले राजस्व बढ्छ र सरकारको खर्च क्षमता पनि वृद्धि हुने उनको भनाई थियो । उनले मौद्रिक नीतिमा सामञ्जस्यता र सरकारको बजेट खर्चबाट अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउनुपर्ने बताएकी छिन् । उत्पादन र उपभोगलाई बढावा दिनुको विकल्प नभएको जर्जेभाको भनाई छ ।

आइएमएफले महामारीबाट उत्पन्न आर्थिक चुनौतीहरूबाट अर्थतन्त्रलाई उकास्न मौद्रिक नीतिमा लचकता र बजेटमार्फत दिइने प्रोत्साहन नै सबैभन्दा उपयुक्त भएको उल्लेख गरेको छ । यसका अतिरिक्त आइएमएफले महामारीको साझा चुनौतीबाट पार पाउन कोभिड–१९ विरुद्धको खोप विश्वभर सर्वसुलभ आपूर्तिका लागि अन्तर्राष्ट्रिय सहायता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि डिजिटल प्लेटफर्मको सक्दो प्रयोग र हरित आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने जनाएको छ । जी २० राष्ट्रहरूले समन्वयात्मक ढङ्गले हरित पूर्वाधारका लागि बजेटबाट प्रोत्साहन दिएको खण्डमा नियमित रूपमा हुने आर्थिक विकासको तुलनामा दुई तिहाई बढी आर्थिक वृद्धिदर हासिल हुने जर्जेभाको भनाई छ ।

प्रतिक्रिया