प्रिन्स र जेसिका च्याम्पियन

काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेसिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा १६ वर्षे प्रिन्सले दीपेशलाई २१–१८–२१–१३ को सोझो सेटमा हराएका थिए । तीन दिन अघि मात्र प्रिन्स विश्व जुनियर वरियताको तेस्रो नम्बरमा उक्लेका थिए ।

धनुषाको गोलबजार कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको फाइनलमामा जेशिकाले राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई हराएकी थिइन् । प्रतिस्पर्धात्मक फाइनलमा जेसिकाले १८–२१, २१–१५, २२–२० को जित निकालेकी थिइन् । जेसिकाको यो दोस्रो उपाधि हो । सातौं सस्करणमा पनि उनले उपाधि जितेकी थिइन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ वरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज राना विजयी भए । उनले आर्मीका दिवश शंकरलाई १५–२१, २१–१८, २१–१६ ले हराए । शीर्ष १२ वरियता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवा विजयी भइन् । प्राथनाले फाइनलमा झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले पराजि गरिन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा आर्मीका रत्जजित र नविन श्रेष्ठको जोडीले उपाधि जित्यो । उनीहरुले आर्मीकै सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २१–१९, १९–२१, २१–१३ ले हरायो । महिला युगल तर्फ आर्मीले उपाधि जित्यो । आर्मीका रशिला र अमिता गिरीको जोडीले एपिएफका जेशिका र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गरेको हो ।

ब्वाईज एकल तर्फ आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले आफ्नै क्लबका आयुष्मान नागरीलाई २१–५, १९–२१, २१–१० ले हराए । गल्र्स एकलमा राष्ट्रिय च्याम्पियन सेनाकी रशिलाले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१–१०,२१–१० ले हराउँदै उपाधि रक्षा गरिन् । भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेको जोडी विजयी भयो । उनीहरुको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१–१२, २१–१९ ले हराए । लाखेले झन्डै १२ बर्ष पछि कोर्टमा उत्रेका थिए ।

गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत विजयी खेलाडीलाई पुरस्कृत गरे । र्याङ्किङ्ग बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले २० हजार, उपविजेताले १० हजार र शीर्ष चारमा पुग्नेले समान ५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै छात्र तथा छात्रा यु – १७ का विजयीले १५ हजार, उपविजेताले ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले समान ४ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया