फरक क्षमता भएकालाई जीवनोपयोगी तालिम

विराटनगर । प्रदेश–१ का फरक क्षमता भएका ६२ जनालाई जीवनोपयोगी तालिम प्रदान गरिएको छ । प्रदेशका विभिन्न १२ जिल्लाका १० फरक क्षमता भएकालाई जीवनोपयोगी तालिम प्रदान गरिएको हो । व्यावहारिक रूपमा उपलव्ध गराइएको तालिममा अपांगता ऐन, अपांगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्बन्धका विषयमा उनीहरूलाई जानकारी गराइएको थियो ।

‘हामीलाई पनि समावेश गर’ भन्ने नाराका साथ राष्ट्रिय अपांग महासंघ प्रदेश–१ को आयोजनामा विराटनगरमा चलेको पाँचदिने उक्त तालिममा लेखाइ, खेल, नृत्य एवं नाटकको माध्यमबाट नेपालको संविधान, अपांगताहरूको अधिकार र पालिका र ग्रामीण क्षेत्रमा हक अधिकार प्राप्तिका लागि गर्नुपर्ने कार्यका सम्बन्धमा ज्ञान आर्जन उपलव्धिमूलक रहेको तालिमका सहभागीहरूले बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आइतबार तालिमको समापन गर्दै महासंघको भवनको लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै विराटनगरको आदर्श माविमा अपांग सहितको समावेशी शिक्षा अध्ययन गराउने नमुना विद्यालयको निर्माण गर्ने जानकारी दिए ।

उनले महानगरपालिकाले अपांग शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको चर्चा गर्दै उनीहरूको जीवन सहज व्यवस्थापनका लागि शिक्षाको उज्यालो छर्ने बताए । प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ, संघीय कोषाध्यक्ष केपी अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम र फरक क्षमता भएकाहरू समिरा लावती र सिताराम ओझाले सैद्धान्तिक भन्दा व्यावहारिक भएको तालिम महत्वपूर्ण रहेकोमा जोड दिएको थिए ।

प्रतिक्रिया