शीतलहरका कारण विद्यालय बन्द हुन थाले

जलेश्वर । शीतलहरको कारण बालबालिकाहरूलाई बचाउन महोत्तरीमा विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि लगातार शीतलहर बढेपछि जलेश्वर, रामगोपालपुरलगायत नगरपालिकाहरूले आफू मातहतका विद्यालयहरूलाई बन्द गरेको छ ।

रामगोपालपुर नगरपालिकाले अत्यधिक चिसो बढेको कारण वातावरण असहज भई पठनपाठन कार्यमा कठिनाइ भइरहेको भन्दै ६ दिनको लागि विद्यालय बन्द गरेको जनाएको छ । रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले एक सूचना जारी गर्दै ४ देखि ९ माघ सम्मका लागि रामगोपालपुर नगरपालिका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यसैगरी जलेश्वर नगरपालिकाले पनि आइतबारदेखि मंगलबारसम्मका लागि जाडो बिदा दिएको छ । नगरपालिकाले शीतलहर बढेको भन्दै तत्काल तीन दिनको लागि नगरपालिका मातहतमा रहेको विद्यालयहरू बन्द गरेको जनाएको छ ।
पछिल्लो एक सातादेखि यसक्षेत्रमा घाम नउदाउँदा जनजीवन असहज हुँदै गएको देखिएको छ । मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले अवस्था यस्तै रहने हो भने आफूहरूले पनि विद्यालय बन्द गर्ने जानकारी दिँदै आफूहरू शीतलहरबाट जोगिने प्रयास थालिसकेको बताए ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल शीतलहरबाट जिल्लावासीलाई जोगाउन पाँच लाख बराबरको ब्लांकेट, कम्बलसहितका न्यानो कपडा खरिद गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम लिई न्यानो कपडा खरिद गरिने जनाइएको छ ।

प्रतिक्रिया