डा. अधिकारीको ‘माक्र्सवाद र साहित्येतिहास दर्शन’

काठमाडौं । साहित्यकार डा. बालाकृष्ण अधिकारीद्वारा लिखित ‘माक्र्सवाद र साहित्येतिहास दर्शन’ बजारमा आएको छ । माक्र्सवादको नेपाली साहित्यमा गरिएको प्रयोग र त्यसको आयामलाई कलात्मक रुपमा उधिनिएको उक्त पुस्तकमा नेपाली ज्ञानसंकथनको नवीन प्रयोग र त्यसको विमर्श गरिएको छ । पुस्तकको पहिलो परिच्छेदमा इतिहासको अवधारणा, इतिहास र साहित्येतिहासबिचको सम्बन्ध, साहित्येतिहासको अर्थ, परिभाषा र साहित्येतिहासको स्वरूप प्रस्तुत गरिएको छ । जसले इतिहासलाई बुझ्न र त्यसको फराकिलो आयामलाई नियाल्न सघाउ पुग्ने डा. अधिकारीले जिकिर गरेका छन् । दोस्रो परिच्छेदमा साहित्येतिहासका माक्र्सवादी आयामहरूमा अधिरचनाका रूपमा साहित्येतिहास, साहित्येतिहासमा परम्परा र नवीनताका बिचको द्वन्द्व, अतीत र वर्तमानको सम्बन्ध तथा अन्तर्वस्तु र रूपको सम्बन्धका बारेमा विमर्श गरिएको छ ।

पुस्तकको तेस्रो परिच्छेदमा साहित्येतिहासको अन्तर्वस्तु निर्माणका घटनावृत्त, विचारधारा र भावधारा, कालविभाजन, जीवनी, कार्यकारण सम्बन्ध, प्रकल्पना, इतिहासचेतना र मूल्यनिर्णय गरी आठओटा तत्वको माक्र्सवादी कोणबाट व्याख्या–विश्लेषण गरिएको लेखक डा. अधिकारीले जानकारी दिए । चौथो परिच्छेदमा साहित्येतिहासमा रूपयोजनाको महत्व स्थापित गर्दै योजना, विधि र प्रस्तुतीकरणका बारेमा सैद्धान्तिक विमर्श गरिएको छ । प्रस्तुत कृतिको पाँचौँ परिच्छेदमा साहित्येतिहास अध्ययन–विश्लेषणको पद्धतिका बारेमा चर्चा गरिएको छ । लेखक डा. अधिकारीका अनुसार पहिलोदेखि चौथो परिच्छेदसम्मका सैद्धान्तिक–दार्शनिक सन्दर्भलाई संश्लेषण गरी यस परिच्छेदमा त्यसको अध्ययन पद्धतिको पुनर्निमाण गरिएको छ ।

उनले भने, ‘पुस्तकमा साहित्येतिहासमा अन्तर्वस्तु र रूपको द्वैध स्वरूपलाई आधार बनाएर अन्तर्वस्तु विश्लेषणका (क) कार्यकारण सम्बन्धयुक्त घटनावृत्त, (ख) इतिहासचेतनाजन्य विचारधारा, (ग) प्रकल्पनात्मक कालविभाजन र (घ) मूल्यनिर्णयात्मक जीवनी गरी चारओटा आधार निर्माण गरिएको छ र ती प्रत्येक आधारका चारचारओटा विश्लेषण मानदण्ड पनि प्रस्तुत गरिएको छ भने रूप विश्लेषणका योजना, विधि र प्रस्तुतिका विविध आयाम र परिप्रेक्षको विमर्श गरिएको छ ।’ उनले माक्र्सवाद र साहित्येतिहास दर्शन साहित्यको इतिहासको सैद्धान्तिक–दार्शनिक आधार, लेखनप्रक्रिया र विश्लेषण प्रक्रियाको नवीन अवधारणा प्रस्तुत गरिएको जनाए ।

सिद्धान्त र पद्धतिको संश्लेषण गरिएकाले यस कृतिको समग्रताबाट माक्र्सवादी साहित्येतिहास दर्शन निर्माण भएको देखिन्छ । लेखक डा. अधिकारीले भने, ‘पुस्तकमा माक्र्सवादको व्याख्या गरिएको छैन तर माक्र्सवादी मान्यताका आधारमा साहित्येतिहास दर्शनको एउटा प्रस्तावना तयार पारिएको छ । यसरी सिद्धान्त र पद्धतिको संयोजनबाट निर्मित नवीन ज्ञानसङ्कथनलाई लेखकले दर्शनका रूपमा परिभाषित गरेको देख्न सकिन्छ ।’

उनले पुस्तक एकातिर साहित्येतिहाससम्बद्ध अहिलेसम्मकै नवीन एवं पूर्व ज्ञानपरम्परालाई गहन रूपमा संश्लेषण गरी निर्माण गरिएको मौलिक ज्ञानसङ्कथन जनाउँदै तत्सम्बद्ध दर्शनको नवीन व्याख्यात्मक प्रतिफलनका रुपमा आएको विचार व्यक्त गरे । प्रकाशक पुष्पराज पौडेलले विश्वसाहित्य र नेपाली भाषासाहित्यमा यस प्रकारको कृति अहिलेसम्म प्रकाशित नभएको जिकिर गरे । उनले भने, ‘यसको अर्थ यो कृति विषयक्षेत्रका दृष्टिले नयाँ छ । विशेष गरी साहित्यिक परम्परा, त्यसको निरन्तरता र गतिशीलतालाई बोध चाहने, त्यसका अन्तःसम्बन्धको विश्लेषण गर्न चाहनेका लागि उपयोगी रहने विश्वास लिएका छौं ।’

लेखक डा. अधिकारीले समयको दर्शन र त्यसको गतिलाई बुझ्न चाहने साथै विचारधारा र त्यसको निर्माण प्रक्रिया, साहित्यिक कालप्रवर्तनमा स्रष्टाको भूमिका, इतिहासचेतना, मूल्यनिर्णय, कारणकार्यको विमर्श आदि सन्दर्भ र साहित्यको इतिहासका घटना, आन्दोलन र अभियान आदिलाई हेर्ने नयाँ दृष्टिकोण बनाउन चाहने हरेक पाठकका लागि यो कृति अत्यन्त उपयोगी रहेको बताए । उनले भने, ‘साहित्यको इतिहासलेखन र मूल्यांकन गर्ने प्रगतिवादी र वैज्ञानिक दृष्टिकोण निर्माण गर्न चाहने समग्र पाठकका लागि यो कृति निकै उपयोगी हुने कुरामा यसका लेखक विश्वस्त रहेको देखिन्छ ।’ लेखक डा. अधिकारीले यसलाई आरम्भ मात्र मान्दै कम्तीमा एक दशकमा अझै उन्नत र विश्वसनीय दर्शनका रूपमा विकास गर्ने योजना बनाएको सुनाए । पुस्तक नवीन ज्ञानसंकथन भएकाले पाठकका लागि पठनीय, संग्रहणीय र मन्थनयोग्य रहेको प्रकाशक पौडेलले बताए । शिखा बुक्सबाट प्रकाशित यस पुस्तकले नेपाली साहित्यमा नयाँ बहसको आरम्भ गर्ने पौडेलले जिकिर गरे ।

प्रतिक्रिया