विमल र विक्रम कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् । एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार कतारमा रहेको अस्पेटारमा हुने छ । उपचार सम्बन्धीको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्नेछ ।

विश्वमै खेलकुदसम्बन्धी चोटको शल्यक्रियाका लागि प्रख्यात रहेको अस्पेटारमा उपचार गर्न एन्फाले गरेको आग्रह कतार फुटबल संघले स्वीकारेसँगै दुवै खेलाडीको शल्यक्रिया अब अस्पेटारमा हुने पक्का भएको थियो ।
विमलले पुस पहिलो साता प्रशिक्षण दौरान घुँडामा चोट बोकेका थिए । उनको चोटको प्रारम्भिक रिपोर्टमा तीन गम्भीर चोट देखा परेको छ । बिमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केहि चोट रहेको देखिएको थियो ।

विमलको उपचारको सम्पूर्ण खर्च एन्फाले नै बेहोर्नेछ । विमलको चोटमा राम्रो शल्यक्रिया र फिजियोथेरापी भएको खण्डमा उनी पूर्ण रुपमा ठिक भएर मैदान फर्कन झन्डै १ वर्ष लाग्नेछ । यता, बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल दौरान दुई वर्षअघि शल्यक्रिया गरिएको खुट्टामा समस्या देखिएपछि विक्रमको लागि थप उपचार आवश्यक भएको हो । उनले यसअघि नेपालकै ग्रान्डी अस्पतालमा शल्यक्रिया गरेपछि झन्डै डेढ वर्षपछि सक्रिय फुटबल खेलेका थिए । शल्यक्रियापछि उनी केहि समय मैदानबाहिर रहनेछन् ।

प्रतिक्रिया