ओली सरकारविरुद्ध जसपाको जनप्रदर्शन एवं विशाल विरोध सभा

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ताहरुले ओली सरकारविरुद्ध सर्लाहीको सदरमुकाम मलंगवामा शनिबार जन प्रदर्शन एवं विशाल विरोध सभा गरेका छन् ।

२०६३–०६४ मा भएको मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका वीर शहिदहरुप्रति मौनधारण गर्नुका साथै शहिदहरुको फोटोमा धूप देखाएर जन प्रदर्शन एवं विशाल विरोध सभा कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा पार्टी प्रदर्शनमा होमिएको जसपाका वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र महतोले बताए । नेता महतोले प्रतिगमनको विरुद्धमा एक भएर आन्दोलनमा जानसमेत सबैलाई आग्रह गरे ।

मलगंवाको तिनबिघि मैदानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अर्का जसपाका शिर्ष नेता एवं कार्यक्रमका विशिस्ट अतिथि महेन्द्र राय यादवले संसद विघटन जस्तो असंवैधानिक कदम र यो ओली सरकारको जति भर्त्सना गरेपनि कम हुने उनले बताए ।

नेता यादवले सरकारले चालेको यो प्रतिगमनकारी कदम सफल नहुने भन्दै आफूहरुको शान्तिपूर्ण आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । आफूहरुको बिरोध ओली सरकार र ओलीले चालेको असंबैधानिक कदमको बिरोध भएको नेता यादवले बताए ।

गाँउ–गाँउबाट आएका नेता तथा कार्यकर्ताहरुले कालो ब्यानर सहित जन प्रदर्शनमा उत्रिएका थिए । दशौं हजारको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले ओलि सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

केपी ओलि मुर्दाबाद, बिद्या भण्डारी मुर्दाबाद, प्रतिगामी षडयन्त्र मुर्दाबाद, असंबैधानिक कु खारेज गर, संंसद बिघटन गर्न पाईदैन, अलोकतान्त्रिक कदम खारेज गर जस्ता नारा लगाएका थिए ।

जसपाका जिल्ला सचिव जबाहर राय यादवले सञ्चालन गरेको विरोध सभालाई जसपाका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरूले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा चर्को विरोध गरेका थिए ।

जसपाका केन्द्रिय सदस्य डा. अब्दुल रहिम मिकरानीको अध्यक्षतामा गरिएको जन प्रदर्शन एवं विशाल विरोध सभा कार्यक्रममा जसपाका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया