रम्तेलडाँडालाई न्याय देऊ !

‘रम्तेलडाँडालाई न्याय देउ’ ठूलठूला अक्षरमा लेखिएको यो नारा छातीमा टाँसेका यूवा अहिले महोत्तरीको बर्दिबासचोकमा बाक्लै देखिन्छन् । समूहमा मात्र होइन, एक्लाएक्लै देखिने युवाको छातीमा पनि ‘भू–माफियालाई कारवाही गर’, ‘वन नजोगाए, हामी जोगिन्नाैं’, ‘वन फाँड्न पाइँदैन’ र ‘नदीनाला र पहाडी शृङ्खलाको अनियन्त्रित दोहन बन्द गर’ जःता नारा लेखिएको देखिन्छ । ‘सचेत यूवा समूह बर्दिबास’ मा आवद्ध यूवाले अहिले वन फँडानीविरुद्ध जागरण अभियान सञ्चालन गरेका छन् । ‘सबैले थाहा पाउन’ प¥यो, वन फँडानीबारे आम चासो बढ्न’ प¥यो, यसै उद्देश्यका लागि हामी जागरण अभियानमा छौँ’ छातीमा टाँसिएका नाराबारे स्पष्ट पार्दै बर्दिबास नगरपालिका–१ का २४ वर्षीय यूवा विजय पोखरेलले भने, ‘आफूहरूको यो अभियानले वन फँडानीबारे सार्वजनिक चासो बढाउन मद्दत पुग्नेछ ।’

लाग्दो पुसमै रम्तेलडाँडा सामुदायिक वनको जग्गा कब्जाको उद्देश्यसाथ फाँडिएपछि त्यसविरुद्ध सचेत युवा समूह बर्दिवास निरन्तर जागरण अभियानमा लागेको छ । ‘हामीले वन फँडानीविरुद्ध कारवाहीका लागि पुस पहिलो सातामै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयमा संयुक्त जाहेरी गरेका छौँ,’ समूहका अर्का युवा सुदीप कार्कीले भने, ‘त्यसयता कैयनपटक जागरण प्रदर्शन र स्थानीय प्रशासन समक्ष ज्ञापनपत्र दिइसकेका छौँ ।’ वन फँडानीविरुद्ध जागरण अभियानमा रहेको आफू आवद्ध समूहले वन फँडानीमा संलग्नमाथि कारवाहीको माग गर्दै गत आइतबार नै स्थानीय प्रशासन समक्ष ज्ञापनपत्र दिएको कार्कीले बताए ।

बर्दिबास–१ को रम्तेलडाँडा सामूदायिक वन क्षेत्रको करीब चार बिघा क्षेत्रफल यही पुसको शुरुमै रातारात केही व्यक्तिले फाँडेपछि बर्दिवासमा फँडानीविरुद्ध कारवाहीको माग आम रूपमा बढेको छ । ‘यी युवा हामै्र वन सम्पदाको रक्षाका लागि निरन्तर अभियानमा छन्’ सचेत युवा समूह बर्दिवासको पछिल्लो गतिविधि बारे नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले भने, ‘अब यो अभियानमा हामी सबैको साथ सहयोग हुनुपर्छ ।’ विगतमा बर्दिवास गाविस छँदा दुई कार्यकाल (२०४९ र २०५४) निर्वाचित अध्यक्षसमेत भएका हमालले पछिल्लो कालमा अहिले स्थानीय तह (नगरपालिका) वन र अन्य प्राकृतिक सम्पदा संरक्षणमा उदासिन देखिएको गुनासो गरे ।

‘ल, हेर्नोस् त यत्रो वन विनास भयो, प्राकृतिक सम्पदाको संरक्षणको जिम्मेवारी पाएको नगरपालिका के गर्दैछ ?’ हमालले केही दिन पहिले फँडानी भएर नाङ्गो बनेको रम्तेलडाँडा सामुदायिक वनक्षेत्रतिर देखाउँदै भने, ‘यही अवस्था रहे हाम्रा सबै वनपाखा अब उजाडिने छन् ।’ रम्तेलडाँडा सामुदायिक वन फाँडेर जग्गा कब्जा गर्न खोज्ने भू–माफियालाई तत्काल कारवाही गरिनुपर्ने सचेत युवा समूहले बर्दिवासमा समर्थन जुटाउँदै छन् ।

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि वन फँडानी अक्षम्य अपराध भएको स्पष्ट पार्दै घटनामा संलग्नहरूले मिनाहा नपाउने बताए । ‘घटनामा जो जति संलग्न छन्, ती सबै कारवाहीका भागिदार छन्’ पत्रकारसँगको सामूहिक कुराकानीमा कार्कीले भने, ‘अनुसन्धान र कारवाहीको कुरा न्यायिक निकायले सम्पादन गर्ने विषय हुन्, हाम्रो यस कार्यमा सहयोग हुनेछ ।’

रम्तेलडाँडा वन फाँड्न दृश्यमा देखिएका भू–माफियाका अतिरिक्त अन्य धेरैको संलग्नता हुनसक्ने समूहमा आवद्ध युवाको भनाइबारे ध्यानाकर्षण गराउँदा नगरप्रमुख कार्कीले यो न्यायिक निकायको अनुसन्धानबाट नै स्पष्ट हुने बताए ।
रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख सम्वद्ध वन कार्यालय, बर्दिवासस्थित नापी तथा मालपोत कार्यालय, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र बर्दिवास–१ वडा कार्यालयको लिखित ठहर व्यहोराबाट काटिएका थिए । स्थानीयले थाहा पाएर प्रतिवाद गरेपछि अहिले वन फँडानी गर्नेविरुद्ध कारवाही प्रक्रिया बढे पनि प्रहरी÷ प्रशासनले उनीहरूलाई पक्राउ गर्न उदासिनता देखाएको सचेत स्थानीय युवाको भनाइ छ ।

बर्दिबास–१ का कृष्णप्रसाद गौतम र लीलामणि आचार्यले वन क्षेत्रलाई आफ्नो नम्बरी भएको दाबी गर्दै वन कार्यालयमा रुख काट्न स्वीकृतिका लागि दिएको निवेदनमा सम्बद्ध पक्ष (वडा कार्यालय, नापी÷मालपोत कार्यालय, सामुदायिक वन उपभोक्ता समितिसमेत) को लिखित सम्पति भएर रातारात वन फाँडिएको थियो । घटनालगत्तै समूहमा आवद्ध युवाले विभिन्न निकायमा आवश्यक कारवाहीका लागि उजुरी गरेका छन् । बर्दिबासका ५१ जना युवाले संयुक्त रूपमा दिएको जाहेरीको आधारमा यसबारे सुक्ष्म अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
यसै प्रकरणमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएर वन फाँड्ने भू–माफियाविरुद्ध पक्राउ आदेश जारी भए पनि थप कोही पक्राउ भने परेका छैनन् । अदालतमा मुद्दा दर्ता हुनपूर्व नै डिभिजन वन कार्यालय महोत्तरीले पुस तेस्रो सातामै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएको छ । अदालतले वन फँडानीमा संलग्न आफ्नो जग्गा दाबी गर्ने गौतम र आचार्य एवं रुख ढाल्ने ठेकदार सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दिप नेपालीविरुद्ध पक्राउ आदेश जारी गरे पनि यिनीहरू राजनीतिक संरक्षण पाएर ओरपर नै घुमिरहेका समूह आवद्ध युवाको आरोप छ ।

जिल्लामा सामुदायिक, धार्मिक, साझेदारी र सागरनाथ वन विकास परियोजनाको समेत गरी करीब २४ हजार हेक्टर वनक्षेत्र रहेको अभिलेख रहेपनि लगातारको अतिक्रमणले अहिले १६ हजार हेक्टरमा मात्र वन रहेको वन अधिकारी नै स्वीकार गर्छन् । पछि रोपण गरिएका वनक्षेत्र जिल्लाका अन्य भेगमा भए पनि मुख्य वन हालको बर्दिबास र गौशाला नगरक्षेत्रमा रहेको छ । विभिन्न कार्यक्रममा अतिक्रमणको चपेटामा पनि यहींकै वन परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले बताए ।

प्रतिक्रिया