कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् पुनर्गठन विवादमा

ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठनका सम्बन्धमा विवाद उत्पन्न भएको छ । पुनर्गठनका सम्बन्धमा भएको निर्वाचन पक्षपाती र आचारसंहिता विपरीत भएको भन्दै तेञ्जिङ वालुङको एक समूहले असन्तुष्टि जनाएको छ । पुनर्गठनका कार्यक्रमबारे उपभोक्तालाई समयमा सूचना नदिएको, उम्मेदवारलाई पत्तै नदिएर निर्वाचन गराएको लगायत आरोपसहित उक्त समूहले असन्तुष्टि जनाएको हो । संरक्षण क्षेत्रअन्तर्गत मानिवुङ र देउराली उपभोक्ता समूहमा आचारसंहिता विपरीत निर्वाचन गराएको र सेकाथुम आमा समूहको उम्मेदवारलाई थाहा नदिई निर्वाचन गराइएको साथै उपभोक्ताको चाहाना विपरीत पुनर्गठनका कार्यक्रम स्थगित गरिएको वालुङले बताए ।

संरक्षण अधिकृत गणेश तिवारी सम्मिलित निर्वाचनमा नै निष्पक्षता नभएको र आचारसंहिता विपरीतका गतिविधि भएको वालुङको आरोप छ । ‘केही समूहमा भएको निर्वाचन स्वतन्त्र, निष्पक्ष नभएको र आचारसंहिताको समेत पालना नभएको पाइएपछि गुनासो राख्यौँ, निवेदनसमेत दियौँ तर कुनै कारवाही भएन, कर्मचारीले एक पक्षीय रूपमा काम गरेका छन्, यस सम्बन्धमा कानुनी उपचार खोज्छौँ’, वालुङले भने ।

यस्तै आचारसंहिता बनाएर नदेखाएको, नियम विपरीत तीन आमा समूह थपिएको र वन उपभोक्ता समूहलाई गठनको मुखैमा आएर हटाएको समेत वालुङको आरोप छ । आफूले दिएको निवेदनलाई बेवास्ता गरेर यही पुस २४ गते लालीगुराँस उपभोक्ता समिति गठन गरेर पुस २५ गते अचानक स्थगन गरेको उनले बताए ।

संरक्षण क्षेत्र कार्यालयले भने निर्वाचनका लागि वातावरण प्रतिकूल बनेकाले स्थगित गर्नुपरेको जनाएको छ । उपभोक्ता विभिन्न समूहमा विभाजित भएका, संरक्षण क्षेत्रभन्दा बाहिरका मानिस प्रवेश गरेर शान्ति भंग गर्ने कार्य गरेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुखबाट समेत तत्काल रोक्नू भनेर निर्देशन भएकाले स्थगन गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया