मोडल हन्ट हुने

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’ को छैठौं संस्करण सुरु भएको छ । नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल’ को नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको हो । १६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उचाई तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताका लागि पहिलो चरणको अडिसन आगामी १० माघमा काठमाडौंमा हुने आयोजकले जनाएको छ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङसम्बन्धी व्यक्तित्व विकास, शारीरिक बनावट, मोडलिङ, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न विषयमा आधारित फोटोसुट, रनवे प्रस्तुतिकरण लगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइने जनाइएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाखसहित उपाधिका साथमा दक्षिण कोरियामा सञ्चालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् । त्यस्तै, मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् । यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसरसमेत प्राप्त आयोजक जनाएको छ ।

प्रतिक्रिया