कालीमार्सी धान, चामल खोज्न घरदैलोमै ग्राहक

कालीमार्सी चामलको माग बढ्दै गएपछि जुम्लाका किसानहरूले घरमै खरिदकर्ता पाउन थालेका छन् । व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्ने गरेको तातोपानी गाउँपालिका–४ नियापानीका किसान जयबहादुर रोकायाले बताए ।

उनले भने, ‘धान किलोको ७० रुपैयाँ, पाथीमा १ सय ५० रुपैयाँ र चामल किलोमा १ सय ५० रुपैयाँमा घरबाटै विक्री हुने गरेको छ ।’ आफूलाई बढी भएको धान चामल बेचेरै जयबहादुरजस्ता कैयौँ किसानले घर खर्च जुटाउने गरेका छन् ।

कालीमार्सी धानको बजार मूल्य सरकारले निर्धारण गरिदिए क्रेता र विक्रेता दुवैलाई सहज हुने किसानहरू बताउँछन् । निश्चित मूल्य नभएकाले ग्राहकले पाँच÷दश रुपैयाँ कमबेसीमा बिक्री गर्ने गरेका छन् । जुम्ला बजारमा पसल गर्ने लक्ष्मी श्रेष्ठ चामल तथा धान खरिद गर्न आफैँ गाउँगाउँ पुग्ने गरेको बताउँछिन् ।

बजारमा कालीमार्सी धान र चामलको माग पूर्ति गर्न आफूहरूलाई मुस्किल पर्दै गएको उनले बताइन् । किसानबाट एक किलोको १ सय ३५ रुपैयाँमा खरिद गरेर १ सय ८० रुपैयाँमा जुम्लामा र काठमाडौंमा किलोको ३ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएको उनले बताइन् ।

कालीमार्सी चामलको माग बढ्न थालेपछि सहकारीमार्फत् किसानको घरदैलोमा पुगेर चामल खरिद गर्न थालेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । एक नगरपालिका र सात वटा गाउँपालिकामा संकलन केन्द्र स्थापना गरिएको चन्दननाथ सहकारी संस्थाका सदस्य सचिवसमेत रहेका जुम्लाका ऋषिराम पाण्डेले बताए ।

उनले भने, ‘पछिल्लो समयमा लोप हुँदै गएका जुम्लाका बालीहरू चिनो, कागुनो, तिलखुडो, गहत, कालीमार्सी, तीते फापर, मीठे फापर, भाडुले फापर, मैमास, सिमी, गुराँस लगायतका बालीहरू संकलन गरेर राख्न र बजारीकरण गर्न थालिएको छ ।’ ‘एक वर्षमा २० लाख रुपैयाँको हाराहारीमा कालीमार्सी धानको चामल खरिद गर्ने गरेका छौँ,’ उनले भने ।

सुर्खेत, नेपालगञ्ज, बुटवल, हेटौँडा, विराटनगर, इटहरी, धरान, धनकुटा, काठमाडौं लगायतका बजारमा समेत कालीमार्सी चामल र अन्य उत्पादन पठाउने गरेको पाण्डेले बताए । सिंजा क्षेत्रको नगराकोट, लार्ज, लुड्कु, वड्की, जाँच र पानसय क्षेत्रको कुडारी, तातोपानी, लाम्रा, हाँकु, गिडीखोला र बजार क्षेत्रमा धान धेरै फल्ने भएकाले यस क्षेत्रबाट बढी खरिद हुने गरेको बताइएको छ ।

जुम्लाको कुल खेतीयोग्य जमिनमध्ये तीन हजार हेक्टरमा धान फल्ने गरेको छ । १५ सय हेक्टरमा कालीमार्सी धान र बाँकी अन्य जातको धान उत्पादन हुँदै आएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, ‘कृषि कार्यालयको तथ्यांकअनुसार किसानहरूले आफुले खाएर बचेको कालीमार्सी बेचेर वार्षिक झण्डै पाँच करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।’ चन्दननाथ–१ र ३ को तुलनामा कालीमार्सी धानको उत्पादन घट्दै गएको छ । तर बजार माग भने बढ्न थालेको कृषि विकास कार्यालयले जनाएको छ ।

कालीमार्सी धानको बीउ शुद्धीकरण नहुनु, धेरै पुरानो बीउ भएका कारण धानमा मरुवा रोग देखापर्नु तथा पशुपालन व्यवसाय घट्दै् गएका कारण भनेको समयमा मल र सिँचाइको आपूर्ति नभएपछि उत्पादन घट्दै गएको देवकोटाले बताए । देवकोटाका अनुसार विक्रमको बाह्रौँ शताब्दीमा गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट धानको बीउ ल्याएर जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु ज्युलामा परीक्षण गर्दा धान उत्पादन हुन थालेपछि जुम्लामा धान खेतीको सुरुआत भएको मानिन्छ । त्यसपछि लाछु, ज्युलो र अन्य ठाउँमा धान रोप्दै जाँदा जुम्लामा पनि धानखेती हुन थालेको उनले बताए ।

तत्कालीन छुमचौर गाविस र हालको पातरासी गाउँपालिकाको छुम ज्युलोमा पनि धान फल्न थालेपछि कालीमार्सी धानले विश्वमा समेत पहिचान कमाउन सफल भएको भन्न सकिने आधारहरू रहेको देवकोटाले बताए । विक्रमको १२ औँ शताब्दीदेखि अहिलेसम्म जुम्लाको धान फल्ने सबै स्थानमा किसानहरूले चन्दननाथ भैरवनाथ मन्दिरमा सिकको रूपमा चामल दिँदै आएका छन् ।

गुरु चन्दननाथ बाबाले धानको शुरूवात गरेको हुनाले त्यसको सम्झनामा धानको बाली अझै राम्रो होस् भन्ने भाकल गर्दै हरेक वर्ष नयाँ धान भित्र्याउनासाथ मन्दिरमा सिक दिने गरेको संस्कृतिसम्बन्धी जानकार तथा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका सदस्य सचिव रमानन्द आचार्यले बताए । उनले भने, ‘जुम्लामा धान उत्पादनको शुरूवातकर्ता गुरु चन्दननाथ बाबालाई मान्ने गरेको हुनाले उनकोे सम्झना स्वरूप सिक दिन थालिएको हो ।

हरेक वर्ष चैतको १२ गते खेतीकिसान गर्ने किसान जहाँ गएपनि जुम्ला पुग्नुपर्ने चलन रहेको छ । ‘चैतको १२ गते घर नआएको जुम्ली म¥यो भनेर जान्नु भन्ने उखान पनि अहिले पनि कायम रहेको छ,’ उनले भने । चैतको १२ गते धानको बिउ भिजाउने, १६ गते उतार्ने र २० गते छर्ने परम्परा अहिलेसम्म कायम रहेको आचार्यले बताए । रोपेको झण्डै ८ महिनापछि मात्र कालीमार्सी धान भित्र्याइने भएकाले स्वादिलो र पोषिलो हुने गरेको मानिन्छ । (बिबिसी)

प्रतिक्रिया