कुलुङ स्वपहिचानको आन्दोलन र चाक्चाकूर

निनाम कुलुङ ‘मंगले’

केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैंले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । लत्ताकपडाहरू पनि आफैं बुन्थे । जस्तै सिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलुलगायत विभिन्न थरका कुलुङहरूले नै बनाउँथे । तर, त्यसो भन्दैमा कुलुङ जातिमा यसरी काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन ।

सबै जातजातिको उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि हुन्छ । त्यसमा पनि आदिवासीको उत्पत्ति थलो र उनीहरूका ऐतिहासिक भूमि मात्रै नभएर अन्य जातजातिको भन्दा भिन्न वा फरक अथवा भनौँ आफ्नो छुट्टै मातृभाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति, रहनसहन आदि हुन्छ । यहाँ नेपालका प्राचीन जातिमध्ये किरात समुदाय भित्रको एक कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ हो भने हालको भगौलिक विभाजनअनुसार ‘महाकुलुङ’ भन्नाले एक नम्बर प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल, सत्तो, पावै आदि गाविसहरू पर्छन् । यी भू–क्षेत्र हाल महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छ । स्मरणीय छ, हिन्दू धर्म–दर्शन र मिथकअनुसार किराँतीहरूको इतिहास देउताको पालाभन्दा अघिदेखि देखिन्छ । हिन्दू धर्म ग्रन्थ महाभारतमा समेत किरातीहरूका बारेमा उल्लेख छ । त्यस्तै किरात संवत (यले दोङ–५०८१) सुरु भइसकेको छ । कुलुङ समुदायको जीवनचक्रअनुसार यही १५ पुसदेखि यले दोङ–५०८१ सुरु भयो । विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भनेझैं ‘चाक्चाकूर’ भनेको कुलुङ समुदायको जीवन–चक्रअनुसार पहिलो महिनाको नाम पनि हो ।

हुन पनि विभिन्न देशी/विदेशी विद्वानहरूले लेखेको किताबमा सोलुखुम्बु जिल्लामा अवस्थित छेस्खाम, बुङ र गुदेल, सत्तो हाल सोताङ र पावै गरी पाँच गाविसलाई ‘महाकुलुङ’ भनेर उल्लेख गरेको भेटिन्छ । यसरी हेर्दा जातीय स्वपहिचान, मातृभाषा, भेषभूषा, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन आदिमा सचेत नेपालका केही जनजातिहरूमा कुलुङ समुदाय पनि पर्छ भन्दा अतिशयः नहोला । तर, नढाँटी भन्ने हो भने, ‘महाकुलुङ’ का यी ‘कुलुङे’ हरूका सुखद्भन्दा पनि दुःखद् कथा–व्यथाहरू नै धेरै छन् । आधुनिकतासँगै आएको भौतिक निर्माणका वस्तुहरूलाई तिलाञ्जलि दिने हो भने महाकुलुङवासीहरू जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद् अवस्था मान्दा फरक पर्देन । तापनि हाल विकासको नाममा काठमाडाैं, सोलुखुम्बुको सदरमुकाम सल्लेरी, पावै, सोताङ हुँदै बुङसम्मै जिपको यात्रा गर्न सकिन्छ । वर्षायाममा भने, महाकुलुङवासीहरू आफ्नो गाउँघरदेखि सल्लेरी पुग्न सल्लेरीबाट फेरि पनि दुई वा तीनदिन पैदल हिँड्नै पर्छ ।

उता आधुनिक जमानाको छिटो छरितो हवाई यात्राको लागि नेपालकै धेरै वटा विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु र कागेलडाँडाका साथै महाकुलुङको गुदेलमा समेत बन्ने पाँच वटा हुने) भएको जिल्ला पनि हो, सोलुखुम्बु । तापनि यी चार वटा विमानस्थलमध्ये तेङ्बोचेमा हाल विमान बस्दैन (उक्त विमानसथलमा बस्न सक्ने पिलाटस् पोर्टर धेरै वर्षअघि दुर्घटना भएर सकिएपछि हाल केही धनी विदेशी पर्यटकहरूलाई चार्टर सेवाका लागि हेलिकोप्टर बस्ने र धनी व्यापारीहरूले सामान कार्गो गर्ने हेलिप्याडजस्तो भएको छ ।) बाँकी तीन विमानस्थलहरू प्रयोग गर्दा पनि महाकुलुङवासीले लगभग दुई वा तीन दिन पैदल हिँड्नै पर्ने हुन्छ ।

‘महाकुलुङ’ को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि गृहकार्य स्वरूप सर्भे भइसकेको छ । यसरी हेर्दा सोलुखुम्बु जिल्ला निकट भविष्यमै पाँच वटा विमानस्थल भएको जिल्ला हुँदै छ । खासमा प्रस्टसँग भन्नुपर्दा कुलुङ जातिलाई हालसम्म कथित् ‘राई’ जातिमा जबरजस्ती गाभिएको अवस्था छ । त्यसैले त अहिलेसम्म पनि ‘कुन जाति÷थर हो ?’ भनेर सोध्नेहरूलाई कुलुङ जाति हो भन्यो भने उनीहरू ‘कुलुङ त राई होइन र ?’ भनी प्रश्न गर्ने गर्छन् । वास्तवमा राई जाति नभएर नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पदवी अथवा पगरी मात्रै हो । कुलुङ जातिले आफ्नो समुदाय कथित् ‘राई’ जाति नभएर अलग्गै जाति हो, त्यसैले कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिको रूपमा सूचीकृत गरियोस् भनी आन्दोलन गरेको पनि लगभग २१ वर्ष भएको छ ।

डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो ।’ यस हिसाबले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जातिहरूको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरू पनि छन् । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ भन्ने त माथि नै वर्णन गरिएको छ । जसरी नेपालका अरू जातजातिमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसरी नै कुलुङ जातिभित्रै विवाहवारी गर्ने प्रचन छ । किनभने, कुलुङ जातिभित्रै ३ सय ६० भन्दा बढी थर/उपथरहरू छन् । तापनि दुःखका साथ भन्नुपर्दा हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान छ । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषा, रहनसहन, गरगहना, कला, संस्कृति आदि जीवित रहेता पनि आधुनिक विकासले भने गति लिन सकेको छैन । विकासले गति नसक्नुमा भौगोलिक रूपमा महाकुलुङ क्षेत्र एकदमै विकट र कुनामा छ । त्यही भएर विभिन्न कालमा (नेपालको भौगोलिक एकीकरणपछिको राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र हालसम्म पनि) महाकुलुङवासीहरू अन्य जातजाति र विभिन्न राजनीतिक दलको भोट बैंक मात्र बनेको अवस्था छ । सुन्दा र पढ्दा नमीठो लागेता पनि शिक्षा र चेतनाको स्तरमा पनि अन्यत्रका कुलुङहरूभन्दा महाकुलुङका कुलुङहरू पछाडि नै छन् । यसो हुनुमा महाकुलुङ क्षेत्र विगत लामो समयदेखि ‘होमोजेनोस्’ वा भनौँ कुलुङहरूको एकल वस्ती हुनु नै हो ।

अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैँ महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि लागिपरेका छन् । विभिन्न राजननीतिक दलमा संगठित भएका छन् । तत्कालीन छेस्खाम गाविस–१ का पुराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका नेता, समाजसेवी तथा राई पदवी वा पगरी पाएका नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरूमा भोट माग्न आउने तल्लो भेगका नेता तथा कार्यकर्ताहरूले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरूको गाउँ’ भनेको अझै पनि झल्झली सम्झन्छन् । त्यो बेला तल्लो भेगका मान्छेहरूले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरू’ भन्दा कुलुङहरू हाल दलित भनिने जातका मान्छेभन्दा पनि सानो र तल्लो जात पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन् । तर, भोट भने, त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर ‘कुलुङे भाङ्ग्रेहरू’ भन्नेहरूलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । जे भएता पनि महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा भने धेरै नै चेतना र जागरण आइसकेकोमा नरमान गर्व नै गर्छन् ।

उनी थप्छन्, ‘अबका युवा पुस्ताले महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणको पथमा डो¥याउनेछन् ।’ अझैं पनि महाकुलुङ क्षेत्र किन र कसरी एकल जातीय वस्ती वा समाजशास्त्रीय भाषामा भन्नुपर्दा ‘इन्डोग्यामस’ भयो ? निश्चय नै यो विषय जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीलगायत अन्य खोज अनुसन्धानकर्ताहरूका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै सिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगभन्दा पनि पर ‘सुपर सोनिक’ र ‘हाइपर सोनिक’ मा पुगेको मानिन्छ ।

केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैंले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । लत्ताकपडाहरू पनि आफैं बुन्थे । जस्तैः सिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलुलगायत विभिन्न थरका कुलुङहरूले नै बनाउँथे । तर, त्यसो भन्दैमा कुलुङ जातिमा यसरी काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । यो पंक्तिकारसँगको एक भेटमा महाकुलुङ क्षेत्रको गुदेल गाविसको चोचोलुङ गाउँमा बसेका र, हाल बुङमा बसाइँ सरेर आएका रामकाजी सेन्च्युरी विक भन्छन्, म स्वयं आफैंले चोचोलुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरू पाछा भन्छन्) का कुलुङले फलामलगायत काँसा–तामाको काम गर्थे भनी बताएका थिए । उनले बोटुको बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ्खो/लिक्खो) देखेको भनेर पनि बताएका थिए ।

प्रतिक्रिया