संघर्षबाट उदाएका कार्की

काठमाडौं । दिपक कार्की, सामाजिक क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनी युवाका लागि प्रेरणादायी व्यक्तिसमेत बनेका छन् । समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशील कार्की हाल विभिन्न गैरसरकारी संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका छन् । उनको सक्रियता, जोश, जाँगर, मिहिनेत साँच्चिकै कदरयोग्य छ । दुई दशकदेखि समाजसेवाको क्षेत्रमा क्रियाशील उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही देशभरीका सामाजिक संघसंस्थालाई संगठित गर्दै अघि बढेका छन् । उनले विशेषगरी समुदायको जिविकोपार्जन, युवाको नेतृत्व तथा क्षमता विकास, महिला सशक्तिकरण, मानव अधिकार, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, अध्ययन, अनुसन्धान, पैरवी, वकालत लगायतका क्षेत्रमा उनको सक्रियता बढी नै देखिन्छ । सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने उनले जनअधिकार सरोकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक महासचिव, एकीकृत समाज विकास नेपालको कार्यकारी निर्देशक, सहयोगी संस्था नेपालको निर्देशक, लायन्स क्लब अफ काठमाडौं ब्रजबाराही टाउनको अध्यक्ष, जापान सोसाइटी अफ ह्युमानिस्टिक एन्थ्रोपोलोजी एसोसिएसनको नेपाल प्रतिनिधि भइ आधा दर्जनभन्दा बढी संघ–सस्थाको नेतृत्व गरिरहेका छन् ।

बाल्यकाल दुःखमा बिताएका उनको युवावस्था भने संघर्ष, सामाजिक रुपमा पछाडि परेका वर्गको सशक्तिकरण र गरिव तथा उत्पीडितको सेवामा बितिरहेको छ । उनले दुःख देखेको र भोगेको कारण मान्छेको दुःख, अभाव अनि गरिबी राम्ररी नियाल्न सक्ने बताए । आफूले नेतृत्व गरेको संघ–सस्थाको माध्यमबाट सामाजिक सेवामा अनवरत् लागिपरेको उनले सुनाए । उनी भन्छन् ‘मसँग सामाजिक सेवाप्रतिको भाव र संकल्पसँगै इमान्दारिता छ ।’ उनले समुदायको सेवा र सामाजिक कार्यमा आफूलाई यसरी समर्पण गरी निरन्तर लाग्न पाउँदा आफूलाई अत्यन्तै खुसी र हौसला मिलेको बताए । उनले देशका विभिन्न जिल्लामा पुगी समुदायसँग प्रत्यक्ष भेट्ने र परिचय हुने भएकाले सामाजिक सञ्जाल विस्तार भएको जनाउँदै भने, ‘मुलुकका विभिन्न जिल्लामा पुग्दा र विश्वका विभिन्न देशमा पुगी त्यहाँको भूगोल, भाषा र समाजसँग साक्षत्कार हुन पाउँदा जीवनको ठूलो उपलब्धि हासिल हुनुका साथै समाज विकासको सीप, ज्ञान र भोगाइ बुझ्ने अवसर पाएको छु ।’

नेपाली समाजको उत्थान, जागरण, विकास र सम्बृद्धिका लागि कार्कीको पहलमा नेपाल सरकारका विभिन्न निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सहकार्य र साझेदारीमा मुलुकका ४४ भन्दा बढी जिल्लामा विभिन्न परियोजना तथा कार्यक्रम सञ्चालित छन् । उनले ती परियोजना र कार्यक्रमले गरिब समुदायको जीविकोपार्जन, सशक्तिकरण, आर्थिक सम्बृद्धि र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे । उनका अनुसार ती कार्यक्रमबाट महिला, बालबालिका, अपांग, युवा, बिपन्न वर्ग र पिछडिएका समुदाय अत्यधिक लाभान्वित भएका छन् । राज्यको नीति निर्माण तहदेखि कार्यान्वयनको चरणसम्म उनले उल्लेखनीय योगदान दिएका छन् ।

आफू संलग्न भएको संघ संस्थाको माध्यमद्वारा समाजमा सकारात्मक परिवर्तनहरु भएको उनले जिकिर गरे । उनीमार्फत विशेषगरी समाजमा पछि परेका वर्गको सशक्तिकरण, समुदायको जीविकोपार्जन, उद्यमशीलता र सीप विकास आदि काम भएका छन् । त्यस्तै, महिला सशक्तिकरण, चेतनामूलक कार्यक्रम, युवा तथा बालबालिकाको क्षमता विकास, सामाजिक जागरण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, कृषि, वातावरण संरक्षण, विभिन्न विषयगत अध्ययन, अनुसन्धान, मानवअधिकार सम्बन्धी पैरवी र वकालत लगायत अन्य सामुदायिक विकासको क्षेत्रमा समेत काम भइरहेको छ । उनी भन्छन्, ‘संघ–संस्था भनेका सरकारका साझेदार हुन् । यस्ता संस्थामार्फत विकास निर्माणको चरणदेखि जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार हुने खालका कामहरु धेरै भएका छन् । देशको विकास, आर्थिक सम्बृद्धि, गरिबी न्यूनिकरण, दिगो शान्ति स्थापना, समुदायको सशक्तिकरण र जीविकोपार्जन जस्ता महत्वपूर्ण कामहरु प्रशस्त भएको छन् ।’

निरन्तर निःस्वार्थ ढंगले सामाजिक क्षेत्रमा काम गरेबापत् कार्कीले वेस्ट युथ इन्टरप्रेनरसिप अवार्ड, युथ एम्बेसडर फर पिस अवार्ड, सोसियल युथ एक्टिभिस्ट अवार्ड, युथ लिडरसिप सम्मान, सामाजिक सेवा सम्मान, विशेष नागरिक सम्मान, आइसिटी युथ लिडर सम्मान, स्वास्थ्य सेवा सम्मान, उद्यमशीलता सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान, राष्ट्रिय युवा प्रतिभा सम्मान, राष्ट्रसेवा सम्मान, सेभ द नेसन अवार्ड, राष्ट्रिय नागरिक मानार्थ सम्मान लगायतका दर्जनौंै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन् ।

उनी भन्छन्, ‘मानिसको जीवन वास्तवमै सुन्दर छ । जिन्दगीलाइ जीउन जान्नुपर्छ, जिन्दगी भनेकै हाँसो अनि रोदन, सुख अनि दुःखको समिश्रण हो । संघर्षबाट नै सफलता प्राप्त हुन्छ भन्ने कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन । हरेक चुनौतीसँगै अवसर पनि छ । त्यो चुनौतीलाई सामना गर्नसक्नु नै मानिसको सफलता हो ।’

प्रतिक्रिया