खोजखबर

टोखा घटना : हत्या गरेको हत्याको १२ घण्टापछि आत्महत्या

सौर्य अनलाइन २०७७ पुष २८ गते ५:५९ मा प्रकाशित

काठमाडौं । टोखा नगरपालिका–३ ग्राण्डी भिला हाउजिङमा भएको घटनामा पतिको हत्याको १२ घण्टापछि पत्नीले आत्महत्या गरेको खुलेको छ । पतिलाई ढुंगाले हानेर हत्या गरेको करिव १२ घण्टा पछाडी पत्निले पनि आत्महत्या गरेको पोस्टमार्टम रिपोर्ट आएसँगै ‘च्याप्टर क्लोज’ भएको छ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पोस्टमार्टम रिपोर्टको प्रारम्भिक प्रतिवेदन बाहिर ल्याएपछि बानेश्वरका ३३ वर्षीय उमेश केसी र सुदीक्षा गिरीको हत्यापछिको आत्महत्यालाई प्रमाणित गर्ने तथ्य फेला परेको प्रहरीले जानकारी दिएको छ ।

‘सिलौटोको लोहोरोले हानेर हत्या गरेको र केही समयपछि आफैंले आत्महत्या गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ,’ महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले भने, ‘थप कुरा अनुसन्धानपछि पत्ता लाग्ला ।’ शिक्षण अस्पतालका चिकित्सकका अनुसार उमेशको हत्या भएको १०–१२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको छ ।

चिकित्सकले उमेशको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ भएको उल्लेख गरेका छन् । निधारमा लागेको चोटका कारण उच्च रक्तश्राव भएर ज्यान गएको चिकित्सकले निष्कर्ष निकालेका प्रहरीले जानकारी दिएको छ । एसएसपी सिंहका अनुसार लिखित पोस्टमार्टम रिपोर्ट नआए पनि घटनामा तेस्रो पक्षको संलग्नता देखिएको छैन । ‘अहिलेलाई तेस्रो पक्षको संलग्नता देखिने प्रमाण फेला परेका छैनन्,’ एसएसपी सिंहले भने ।

उमेशका परिवारले भने आफूहरूलाई खबर नगरी मुचुल्का उठाउनु, सुदीक्षाकी दिदी शर्मिलाले परिवारलाई चिन्दाचिन्दै पनि जानकारी नदिनु, मृतक उमेशको मृत्युको केही घण्टापछि मात्रै सुदीक्षाले आत्महत्या गर्नुले तेस्रो पक्षको पनि संलग्नता रहेको आरोप लगाउँदै आएका थिए । पोस्टमार्टममा अन्य व्यक्तिको कुनै संलग्नता नदेखिएकाले अब सुदीक्षाले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ । एसएसपी सिंहले पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धानमा तेस्रो पक्ष नदेखिए पनि त्यसतर्फ अनुसन्धान भइरहेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केहीले शंका गरेको दिदी शर्मिलाको संलग्न हुने कुनै संकेत देखिएका छैनन् । मृतक पतिपत्नी बस्ने अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको भए पनि त्यसमा कुनै पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ । ‘दिदी अगाडिको ढोकाबाट प्रवेश गरेको फिङ्गर प्रिन्ट भेटिएको छ । यसले उनी संलग्न भएको भन्ने प्रमाण दिँदैन,’ ती प्रहरी अधिकारीले भने ।

तर प्रहरीले शर्मिलाको मोबाइलमा म्यासेज, फोटो वा फोन कल भएरनभएको अनुसन्धानका लागि मोबाइललाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ । २०७२ वैशाख २८ गते ‘बिजनेश इन मास्टर्स’ पढ्न गएका उमेश कात्तिक ६ गते सदीक्षालाई अमेरिका लैजान नेपाल आएका थिए । व्यापार गर्दै आएका उमेश आगामी माघ १ गते पत्नी सदीक्षासहित अमेरिका जाने योजनामा रहेका पारिवारिक स्रोतले जनाएको छ ।

घर परिवारको मन्जुरी विना ६ वर्षअघि दुवैको विवाह भएका थियो । विवाहपछि सुदीक्षा माइतीको रेखदेखमा टोखामा बस्दै आएकी थिइन् । सुर्खेत स्थायी घर भएका माइती टोखामा बस्ने भएकाले उमेशले सुदीक्षालाई नजिकै अपार्टमेन्टमा राखेका थिए । शुक्रवार राति पौने ९ बजे प्रहरीलाई खबर आएपछि ५ मिनेटमा प्रहरी घटनास्थलमा गएको प्रहरीले जनाएको छ । मृतक उमेशको टाउको मसला पिस्ने लोहोरोले हानेको देखिएको छ भने सदीक्षाले भने झुण्डिएर आत्महत्या गरेकी जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय