राडीपाखीबाट आम्दानी बढेपछि स्थानीयवासी सीप सिक्न तल्लीन

खलंगा । जुम्लाका ग्रामीण भेगका बासिन्दा हिउँद याममा राडीपाखी बनाउने सीप सिक्न व्यस्त छन् । राडीपाखीबाट आम्दानी बढ्न थालेपछि स्थानीयवासी सीप सिक्न तल्लीन भएका हुन् । तिला गाउँपालिका–१ का परने बस्नेतले राडीपाखी बनाउन सीप सिक्न सुरुआत गरेको जानकारी दिए । उनले भने, ‘विशेषगरी पछिल्लो समय लोप हुँदै गएको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊन बुनेर आयआर्जन गर्न यहाँका ग्रामीण भेगका स्थानीयवासी लागिपरेका छन् ।’

अधिकांश स्थानीयवासी भेडा बाख्रापालनदेखि खरायोपालनतिर पनि सक्रिय भइरहेका छन् । ऊन खेर गइरहेको थियो । सीप नहुँदा परम्परागत राडीपाखीबाहेक अन्य वस्तु उत्पादन हुन सकेको छैन । अनुकूलन कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णालीले एकमहिने राडीपाखी बुनाइ तथा सीप सुधार तालिम सञ्चालन गरेको थियो । दुर्गमका बासिन्दाले ऊनका विविध सामग्री तयार गरी बजारमा बिक्री गर्न थालेको वीरबहादुर रावतले जानकारी दिए ।

गलबन्दी, गलैँचा, राडीपाखी र कोटे कपडालगायतका सामग्री यहाँका स्थानीयवासीले बुन्न सिकेका छन् । तालिमका अवधिमा ऊनबाट राडीपाखीलगायत सामग्री बुन्न सिकेको उनले बताए । गाउँमा पछिल्लो समयमा सीप सिकाएर आत्मनिर्भर बन्न र आम्दानीको स्रोत बढाउने विभिन्न प्रकारका व्यावसायिक सीपमूलक तालिम लिने गरेको सिञ्जा गाउँपालिका प्रवक्ता नवीन शर्माले बताए । राडीपाखी र कम्बल बुनेर भेडाको ऊनको सदुपयोग गरेका छन् । राडीपाखीबाट ओढ्ने ओछ्याउने कपडाका लागि यहाँका स्थानीयवासी प्रयोग गर्न गरेको तातोपानी गाउँपालिका–४ का प्रेमराज पाण्डेले बताए । उनले भने, ‘राडीपाखी बुनेर बिक्रीका लागि बजार अभाव भएको छैन सो सामग्री खरिद गर्न घरमै आउने गरेका छन् ।’

राडीपाखीबाट गलैँचा, टोपी र गलबन्दी बुन्न सिक्ने अवसर पनि मिलेको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिकाका बासिन्दालाई राडीपाखी बुनाई सीप सिकाइएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले जानकारी दिए । स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थालेपछि गाउँका स्थानीयवासीको जीविकोपार्जनमा सहज भएको उनले बताए । उनले भने, ‘अहिले राडीपाखीको बजार मूल्य न्यूनतम ४ हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ । जिल्ला आउने अधिकांश आन्तरिक पर्यटकले राडीपाखी खरिद गरेर लिने गरेका छन् । अब गलैँचा, गलबन्दी, टोपी बुन्न थालेपछि ऊनबाट उत्पादित वस्तुको मूल्य बढ्न सक्ने गाउँवासीको अपेक्षा रहेको छ ।’

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख पद्मप्रसाद उपाध्यायका अनुसार कार्यालयबाट विभिन्न प्रकारका सीपमूलक तालिम दिने गरेको र तीमध्ये ग्रामीण भेगका बासिन्दालाई राडीपाखी बुनाइमा राहत भएको उनले बताए । जिल्लामा भेडापालन हुने गर्छ । यसबाट प्रशस्त ऊन उत्पादन गरेर गाउँवासीले आयस्रोतको गतिलो माध्यम बनाउन सकिने क्याप्स कर्णाली परियोजले जनाएको छ । परियोजनाले यहाँको तिला, तातोपानी र हिमा गाउँपालिकाका स्थानीयवासीलाई राडीपाखी बुनाइमा ती संस्थाले सहयोग गरेको छ ।

प्रतिक्रिया