राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको मृत्यु

जलेश्वर । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट मृत्यु भएको छ ।

विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट संघको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट संघबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा मृत्यु भएको हो ।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए ।

उनको मृत्युबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट संघको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए ।

१२ वर्षको उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी रहेका थिए । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए ।

प्रतिक्रिया