प्राइम बैंकको मनोमानी : १५ करोडको घर ५ करोडमा जबरजस्ती लिलामी

काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौं बालाजुस्थित एक सेवाग्रहीको घर सात वर्ष अघिको मूल्यांकनअनुसार लिलाम गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार आफ्नो संस्थाको नाममा रहेको गैरबंैकिङ सम्पत्तिको लिलाम गर्नुपूर्व स्वतन्त्र मूल्यांकनकर्ताबाट यथार्थपरक मूल्यांकन गराउनुपर्ने भनी उल्लेख गरिएको छ । तर, प्राइम बैंकले त्यसलाई पूर्णरुपमा वेवास्था गर्दै सात वर्ष अघिको धितो लिँदाको मूल्यांकनलाई नै कायम गरी लिलाम गरेको हो ।

बालाजु निवासी काजीराम पियाले व्यापारिक प्रयोजनका लागि ०७१ सालमा कित्ता नम्बर २७१ र १७९ मा बनेको साढे पाँच तल्लाको घर धितो राखेर प्राइम बैंक माछापोखरी शाखाबाट साढे तीन करोड रुपैयाँ ऋण निकालेका थिए । खाद्यान्नको व्यापारी उनले व्यवसायका लागि थप रकम आवश्यक परेपछि एक वर्ष पश्चात पुनः सोही बैंकबाट ऋण लिए । यसपटक उनले बैंकको आवश्यक प्रक्रिया पुरा गरेर साढे तीन करोड रुपैंयाँ निकाले । दोश्रोपटक ऋण निकाल्दा उनले आफ्नो घर र जग्गाको मूल्यांकन फेरी गराए । बैंकका प्रतिनिधिले आएर गरेको मूल्यांकनअनुसार उनलाई थप ऋण दिन योग्य ठहर्याई ऋण दियो ।

०७६ साल मंसिरमा घरधनीले उक्त घरको मूल्यांकन गराउँदा उक्त घर र जग्गाको चलनचल्ती मूल्य १३ करोड रुपैयाँ पुगेको थियो । तर, अहिले उक्त घर र जग्गाको चलनचल्ती मूल्य झन्डै १५ करोड पर्ने घर धनी काजीराम जनाउँछन् । तर प्राइम कमर्सियल बैंकले भने, बैंकको प्रक्रिया र ब्याजदर सबै बुझ्दाबुझ्दै पनि ऋणीलाई सडकमा पुर्याएको छ । माछापोखरीस्थित प्राइम बंैकले आफ्नो १५ करोडको घरमाथि ‘गिद्देनजर’ लगाएर आफूलाइ सडकमा पुर्याएको ऋणीले बताएका छन् । ‘प्राइम बैंकले बदमासी गरेर फसायो, घर लिलाम गर्नुअघि न त बैंकले सल्लाह ग¥यो, न त पुनः मूल्यांकन नै गर्यो । उल्टै घर लिलाम गर्नुअघि पुनः मूल्यांकन नै नगरी पुरानै मूल्यांकनलाई समेत बेवास्ता गरेर घर लिलाम गरी राष्ट्र बैंकको नीति विपरीत कार्य गरिदियो’, काजीरामको भनाई छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका विपरित बैंकले पुरानै मुल्यमा घरको लिलामी गरिदिएपछि पीडितको अहिले सडकबास भएको छ । उनका अनुसार बैंकले ५ करोडमा घर लिलाम गरिदिएको हो । घरजग्गा सम्वन्धि मुद्दा हेर्ने कानुन व्यवसायीका अनुसार, राष्ट्र बंैकको निर्देशिकामा संस्थाले कर्जा असुल गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्नु अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको बताउछन् । तर प्राइम बैंकले भने राष्ट्र बैंकको निर्देशिका विपरीत कार्य गरेको छ । त्यस्तै पीडितका हकमा पनि प्राइम बंैकले राष्ट्र बैकको निर्देशिका पालना नगरेको पीडितका कानुन व्यवसायी बताउँछन् । ‘प्राइम बैंकले गरेको आफ्नो धितोमा रहेको माछापोखरीस्थित घर लिलामी गैरन्यायिक ढंगबाट भएको छ’, पीडित भन्छन् । तर कमलपोखरीस्थित प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालयका प्रमुखले यसबारे आफू नबोल्ने भन्दै पन्छिएको पीडितले गुनासो गरेका छन् ।

प्रतिक्रिया