प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर

काठमाडौं । घर, रिसोर्ट, रेस्टुरेन्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुइँलगायत सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिटमा नेपाल आत्मनिर्भर रहेको छ । राजधानीमा आयोजित प्रिकास्ट कंक्रिटबाट निर्माण हुने इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, टेक्टायललगायत दुई दर्जन प्रकारका निर्माण सामग्रीको टेक्निकल तथा अन्य विविध पक्षबारे जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठीमा सहभागीहरुले मुलुक यस्तो कंक्रिटमा आत्मनिर्भर मएको बताएका हुन । सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पद्मकुमार मैनालीले गुणस्तरीय प्रिकास्टबाट निर्माण हुने निर्माण सामग्रीको बजार विस्तार हुँदै गएको बताए । उनले युरोप, अमेरिकी मुलुकमा धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि नेपाली बजारमा भर्खरै प्रयोग बढ्दै गइरहेकोमा जोड दिए । उनले भने,‘नेपालका प्रिकास्टका उत्पादक कम्पनीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगरीकनै उत्पादन गर्नुपर्ने बेला भइसकेको छ ।’

निमित्त महानिर्देशक मैनालीले गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटर लगायतको उत्पादन गर्न निर्देशन पनि दिए । ‘प्रिकास्ट कंक्रिट ब्लकले उद्योगकै रुपमा स्थापित हुनु निकै सकारात्मक कुरा हो’ उनले भने, ‘सरकारले तथा निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरिरहेको परिपेक्षमा यस्ता उद्योगको महत्त्व झनै बढ्दै गइरहेको छ ।’ निमित्त महानिर्देशक मैनालीले प्रिकास्ट कंक्रिट उत्पादन मात्र नभई बजारीकरणमा समेत ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यशालामा सहभागी सरोकारवाला निकायले प्रिकास्ट कंक्रिटका निर्माण सामग्री मात्रै नभएर प्रिकास्टको फिटिङ गर्ने जनशक्ति पनि उत्पादन गर्दै लैजानुपर्ने सुझाव दिए ।

एसियन कंक्रिटका निर्देशक अनिल जेटियाले विगत तीन वर्षदेखि प्रिकास्ट कंक्रिटको उद्योग सञ्चालन गर्दै आएको बताएा थिए । नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायत सामग्री उत्पादन गर्दै आइरहेका छन ।  नेपाल गुणस्तर परिषद्को बैठकले प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटर लगायतको मापदण्ड तोकेको छ । निर्देशक जाटियाले सरकार आफैंले प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीको मापदण्ड तोक्नु निकै सकारात्मक भएको बताए । ‘केही सीमित कम्पनीले मात्रै गुणस्तर खालको कंक्रिटका ब्लकलगायतका निर्माण सामग्री उत्पादन गरिरहेका छन’ उनले भने,‘मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तर खालको प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको छ ।’ निर्देशक जाटियाले प्रिकास्ट कंक्रिटको निर्माण सामग्री बनाउने उद्योग नेपालमै स्थापित भइरहेको धारणा राखे । नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्री पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर तथा भुईंलगायत सजावटको लागि प्रयोग हुँदै आइरहेका छन् ।

प्रतिक्रिया