केपी ओलीले आफैले बनाएको संविधानलाई बलात्कार गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले बनाएको संविधानलाई बलात्कार गरेको बताएका छन् ।

उनले आज सोही प्रतिनिधीसभा विघटन गरेकोविरुद्ध राजधानीमा आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा उक्त सभालाई सम्बोधन गर्दै संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत भएको प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन, भङ्ग भएको त केपी ओलीको सरकार हो ।’ उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन, आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

अध्यक्ष दाहालले सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे । अध्यक्ष दाहालले संविधानमाथिको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउनेसमेत चेतावनी दिए ।

प्रतिक्रिया