शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

पोखरा महानगरपालिका वडा नं ११ जयकोटमा निर्माण हुने कर्म सिद्ध रानीपौवा गुम्बा शिलान्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन । तस्बिरः रासस

कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको दिगो शान्ति र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन । पोखरा महानगरपालिका–११ जयकोटस्थित कर्म सिद्ध रानीपौवा गुम्बाको आज शिलान्यास गर्दै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए । प्रमुख शेरचनले बुद्ध दर्शन मानव कल्याण र विकासका लागि वैज्ञानिक दर्शन बनेको उल्लेख गर्दै यसलाई तल्लो तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । जीवजन्तुको कल्याण, उत्थान एवम् विभेदरहित व्यवहारलाई आत्मसात् गर्दै लोभलालच, द्वेषमुक्त भएर शान्ति र कल्याणमा लाग्न सके मात्र बुद्धत्व प्राप्त गर्नेतर्पm उन्मुख हुनेमा उनले जोड दिए ।

धार्मिक आस्था बोकेर नभई कर्म गरे मात्र धर्म हुने विश्वास व्यक्त गर्दै प्रमुख शेरचनले भने, ‘प्रत्येक प्राणी र समाजका दुःखी असहायको सेवा गर्नु असल धर्म हो ।’ उनले गुम्बा निर्माणमा सङ्घ र प्रदेश सरकारसँग आफूले पहल गर्ने बताए । पहिलो तल्ला चार हजार, दोस्रो तल्ला तीन हजार, तेस्रो र चौथो तल्ला एक हजार २०० स्क्वायर फिटको रहने कर्म सिद्ध गुम्बा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु ६ करोडको लागतमा निर्माण गरिने कर्तो गुरुङले जानकारी दिए । हिमालपारिको जिल्ला मनाङबाट बसाइँसराइ गरेर पोखरा आएका व्यक्तिहरुको सक्रियतामा २०१६ मा निर्माण गरिएको गुम्बा २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएपछि सोही परिसरमा गुम्बा निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले धार्मिक, सांस्कृतिक महत्व बोकेको गुम्बा तोकिएको समयमा र गुणस्तरीय निर्माण हुनुपर्ने आवश्यकतामाथि जोड दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनीयर सुरेन्द्र घिमिरेले भूकम्पले मुलुकका एक हजार ३७२ गुम्बामा क्षति पुगेको बताउँदै तीमध्ये ४०२ मर्मत भइसकेको र १३ ठूला गुम्बाको पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया