सिन्धुलीगढीमा पर्यटक आगमन बढ्दै

सिन्धुली । कमलामाई नगरपालिका–३ मा रहेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा पर्यटकको आगमन वृद्धि हुँदै गएको छ । कोरोना भाइरसको कारण गत चैतदेखि बन्द रहेको गढी केही महिना अगाडीबाट पर्यटनका लागि खुल्ला गरेसँगै पर्यटनको आवागमन बढेको हो ।  गढीमा हाल दैनिक पर्यटकको संख्या बढ्दै गएको गढीको रेखदेख गर्दै आएका कमलामाई नगरपालिकाका नगरप्रहरी सन्तोष कार्कीले बताए । उनका अनुसार गढीमा दैनिक पिकनिक खानका लागि हजाराँै पर्यटक आउने गर्छन् । ‘अरू बारको तुलनामा शुक्रबार र शनिबार लगभग एक हजारदेखि १५ सयको हाराहारीमा पर्यटकहरू पिकनिक खानका लागि आउने गर्छन्’, उनले भने, ‘यहाँ प्रायः तराईका जिल्लाबाट मानिसहरू धेरै आउने गर्छन् ।’

नेपाललाई जोगाउने धरोहरका रूपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको कमलामाई नगरपालिकाले जनाएको छ । कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग खत्रीका अनुसार सिन्धुलीमा पर्यटन भित्र्याउन सिन्धुलीगढीले महत्वपूर्ण भूमिका खेलेको छ । गढीमा पिकनिक खानेदेखि आवतजावत गर्ने र स्थानीयबाटै हुने फोहोरको व्यवस्थापन कमलामाई नगरपालिकाले गरिरहेको नगरप्रमुख खत्रीले बताए । सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यो ठाउँ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

सिन्धुलीगढी सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा रहेको छ । सिन्धुलीगढी अंग्रेजसँगको युद्धमा वीर गोर्खालीहरुले लडाइँ गरेको ऐतिहासिक गढी हो । १८२४ कात्तिक २४ मा इस्टइन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेजी फौजलाई बंशु गुरुङको नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेका थियो ।

०००

प्रतिक्रिया