फुसको छानो विस्थापन अभियान सुरु

लहान । सिरहामा फुसको छानामुक्त बनाउने अभियान सुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान सुरु गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान सुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले जनाएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सिरहाको चार वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ । सिरहा नगरपालिकामा ४ सय १, गोलबजार नगरपालिकामा २ सय २८, नरहा गाउँपालिकामा १ सय ७८, विष्णुपुर गाउँपालिकामा १ सय २३ र अर्नमा गाउँपालिकामा २ सय ६७ वटा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिए ।

सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ सुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर चौधरीले बताए । ‘प्रत्येक घरका लागि ५० हजार रकम छुट्ट्याइएको छ’, उनले भने, ‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप २० हजार उपलब्ध गराइनेछ ।’ यसमा कुनै लक्षित वर्ग वा जातलाई नभई फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उनको भनाइ छ ।
‘तराई–मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ’, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले भने, ‘जसकारण बर्सेनि आगलागीको घटना हुने गरेका छन्, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।’ यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उनको विश्वास छ ।

प्रतिक्रिया