कांग्रेसको विरोधपूर्ण सहमति !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघठनको खुलेर विरोध गरेको छैन । कांग्रेसले विघठनको माग फिर्ता गर्नुभन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन ब्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना प्रयत्न केन्द्रीत गर्ने भएको हो ।  पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी एंव पूर्व पदाधिकारीको बैठकले चार बुँदे निर्णय गर्दै लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्न अन्य दलसँग पनि समन्वय र सल्लाह गर्ने निर्णय गरेको छ । ‘वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो घटना नेपाल कम्युनिस्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण निन्दनीय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ ।’

नेकपाले स्थिरता र शान्तिको नारा दिएर पाएको झन्डै दुईतिहाइ जनमतको अपमान गरेको कांग्रेसले बताएको छ । ‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड–१९ को माहामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रह्यो’, निर्णयको दोस्रो बुँदामा भनिएको छ, ‘पछिल्ला घटनाक्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रस्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यताविपरीत कार्यहरुको शृंखलाको निरन्तरता हो ।’

कम्युनिस्ट सरकारको कदमले उत्पन भएको असहज परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधान र संसदीय शासन व्यवस्थाको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने कांग्रेसले बताएको छ ।

प्रतिक्रिया