अमेरिकामा भीषण हिमआँधी, दुईको मृत्यु

एजेन्सी । अमेरिकाको उत्तर–पूर्वी भागमा शक्तिशाली हिउँको आँधीहुरी चल्दा दुईजनाको मृत्यु भएको छ । सरकारले १४ वटा राज्यमा जनतालाई सतर्कता अपनाई सुरक्षित रहन सल्लाह दिइसकेको छ । यस दैवी प्रकोपबाट ६ करोडभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

पेनसिल्भानिया र र न्युयोर्कमा दुई फिटसम्म हिमपात हुने राष्ट्रिय मौसम तथा जलवायु सेवा (एनडब्ल्युएस) ले भविष्यवाणी गरेको छ । एनडब्ल्युएसले अत्यन्तै प्रभाावित क्षेत्रमा आवत–जावत असम्भव हुने तथा विद्युत् आपूर्तिमा पनि समस्या आउन सक्ने चेतावनी दिएको छ ।

भीषण हिमपातकै कारण पेनसिल्भानियाको मध्यभागमा दर्जनौं कार एकै साथ दुर्घटनामा पर्दा दुईजना व्यक्तिको ज्यान गएको छ । तर, सरकारी अधिकारीहरूले यही हिमआँधीका कारणले कोभिड–१९ विरुद्धको खोप वितरणमा कुनै अवरोध नआउने स्पष्ट पारेका छन् ।

अमेरिकामा सोमबारदेखि खोप वितरण कार्य शुरू गरिएको हो । तैपनि, थुप्रै राज्यका केही कोरोना भाइरस परीक्षण केन्द्र यस दैवी प्रकोपका कारण अस्थायीरूपमा बन्द गरिएको खबर पनि प्राप्त भएको छ । एनडब्ल्युएसले न्युयोर्कको क्याट्सकिल, माउन्टेनलगायत केही अन्य भागमा गतवर्षको हिउँदमा भन्दा बढी हिमपात हुने भविष्यवाणी गरेको छ ।

प्रतिक्रिया