कोरोनाले फोक्सोलाई कसरी हानी गर्छ ?

निको भइसकेको बिरामीको पनि फोक्सोको भाग सुकेको हुन्छ । त्यसैले निको भएको व्यक्तिमा पनि श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, भर्याङ चढ्न गाह्रो हुने र कसैकसैलाई घरमा पनि अक्सिजन चाहिने हुन्छ । मुख्य कुरा के भने, यसरी खराब भएको फोक्सोको भाग कति समयमा रिकभर हुन्छ भन्ने अझै पत्ता लागेको छैन । किनभने यो सात/आठ महिना मात्र भएकाले यसबारे अध्ययनहरू भइरहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अढाइ लाख नजिक पुग्न लागेको छ । संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन् । मृत्यु हुनेहरूको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन् । त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन् । कोरोना भाइरस भाइरल निमोनिया हो । पहिलो, भाइरस शरीरमा प्रवेश गरिसकेपछि अक्सिजन र कार्बनडाइअक्साइड एक्सचेन्स गर्ने ठाउँलाई असर गर्छ । जसलाई एल्वेओली भनिन्छ । त्यो बेलुनजस्तो फुलेको हुन्छ । भाइरस त्यहाँ गएर गुणात्मक रूपमा वृद्धि हुन्छ । त्यसले हाम्रो फोक्सोको भाइरससँग लड्ने क्षमता एक्टिभेट गर्छ । त्यो एक्टिभेट हुदाँ एन्टिबडी र एन्टिजेन रिक्याक्सन हुन्छ । शरीरले एन्टिबडी बनाउँछ र एन्टिजेट भाइरस हो । यी दुई बीचमा रियाक्सन हुँदा इन्फ्लामेसन हुन्छ । इन्फ्लामेसन भनेको एन्टिबडी र एन्टिजेनको बीचमा संर्घष हुनु हो । यसले एल्वेओलीहरू बिग्रन थाल्छन् । त्यो बिग्रन थालेपछि रगत सप्लाई गर्ने नलीहरूबाट पानी निस्कन थाल्छ । त्यो पानी निस्कन थालेपछि एल्वेओली जसमा हावा भरिएको हुन्छ, जहाबाट अक्सिजन र कार्बनडाइअक्साइड एक्सचेन्ज हुन्छ, त्यसमा पानी जम्मा हुन्छ । त्यहाँ पानी भरिएपछि मानिसले अक्सिजन लिन सक्दैन र शरीरमा अक्सिजनको कमी हुन जान्छ । यो संक्रमणको पहिलो अवस्था हो । यो समयमा बिरामी धेरै गम्भीर भइसकेको हुँदैन ।

भाइरल निमोनियाले अर्को इन्टस्र्टटियममा असर गर्छ । इन्टस्र्टटियम भनेको दुई वटा अल्वेओली छुट्याउने बीचको भाग हो । त्यसमा पनि कोरोना भाइरसले असर गर्छ । यो अवस्थालाई हामीले भाइरल निमोनिया भन्छौँ । यो सुरुको अवस्था हो । यो भाइरल निमोनिया बढ्दै गइसकेपछि यो एक्युक्ट रेस्पेरेटिभ डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) हुन्छ । जसले फोक्सोको तन्किने र खुम्चिने क्षमता कम हुन जान्छ । मानिसको फोक्सो त श्वास फेर्दा फुल्ने र श्वास लिँदा खुम्चिने हुन्छ । तर भाइरसका कारण (एआरडिएस) भएपछि यो फोक्सोको फुल्ने र खुम्चिने क्षमता ह्रास हुँदै जान्छ । जसको कारणले मानिसले श्वास फेर्न सक्दैन र शरीरमा अक्सिजनको मात्रा कम हुँदै जान्छ । त्यसपछि बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता पर्छ । यो भाइरसका कारण हुने निमोनियाको दोस्रो चरण हो ।

तेस्रो भनेको बिरामी सक्डमा जान्छ । यो अवस्थामा संक्रमण बढ्दै गएपछि रगतको माध्यमबाट पूरै जिउमा फैलन्छ । पूरै जिउमा संक्रमण फैलिएपछि ब्लडप्रेसर कम हुन्छ । यसलाई सेप्टिक सक भनिन्छ । जब बिरामी सेप्टिक सकमा जान्छ तब मल्टिअर्गान फेलियर हुन्छ । अर्थात् बिरामीको शरीरका अन्य अंगलेसमेत काम गर्छ छोड्छ । यो कोरोना भाइरसका कारण निम्त्याउने सबैभन्दा गम्भीर अवस्था हो ।

कोरोना भाइरसबारे वैज्ञानिकले पत्ता लगाएको कुरा के भने अटो इम्युनी डिजिजको अवस्था देखिएको छ । आफ्नो शरीरमा भएको एन्टिजिन विरुद्ध शरीरमा एन्टिबडी बनाउन थाल्छ । हुन त अन्य धेरै रोग पनि अटो इम्युनी डिजिज हुन्छ । यसले पनि फोक्सोमा भएको रगतका कोषिकाहरू खराब हुने देखाएको छ । त्यसबाहेक थम्बो एम्बोलिक इफेक्सट्स जसले कहिलेकाहीँ रगतमा सानोसानो एम्बोलीहरू बनेर रक्तप्रवाह हुने स्थानमा बस्छ । रगत प्रवाहमा बसेर असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । सामान्य मान्छेलाई कोभिड–१९ निमोनिया भएको भए फोक्सो फाइब्रोसिस (फोक्सोको भाग सुक्ने) सबै संक्रमितको हुन्छ ।

कोभिड–१९ले फोक्सोको भागलाई सुकाउँछ । जसलाई माइल कोभिड भएको छ, निमोनिया भएको छैन, सामान्य रुघाखोकी, ज्वरो मात्र भएका बिरामीलाई फोक्सो फाइब्रोसिस (फोक्सोको भाग सुक्ने) धेरै भएको पाइएको छैन । तर, जसलाई कोभिड निमोनिया नै भएको छ ती व्यक्ति लगभग ९० प्रतिशत संक्रमितको कुनै न कुनै रूपमा लङ्स फाइब्रोसिस भएको हुन्छ । आइसियुमा भर्ना भएको बिरामीको फोक्सोको भाग सुक्ने प्रतिशत बढी हुन्छ । ५० प्रतिशतभन्दा बढी फोक्सोको भाग सुकेको हुन्छ ।

धेरै गम्भीर नभएको वार्डमा मात्र भएको बिरामीको लगभग २० देखि ३० प्रतिशत फोक्सोलाई असर गरेको देखिएको छ । निको भइसकेको बिरामीको पनि फोक्सोको भाग सुकेको हुन्छ । त्यसैले निको भएको व्यक्तिमा पनि श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, भ¥याङ चढ्न गाह्रो हुने र कसैकसैलाई घरमा पनि अक्सिजन चाहिने हुन्छ ।

मुख्य कुरा के भने, यसरी खराब भएको फोक्सोको भाग कति समयमा रिकभर हुन्छ भन्ने अझै पत्ता लागेको छैन । किनभने यो सात÷आठ महिना मात्र भएकाले यसबारे अध्ययनहरू भइरहेको छ । रिपोर्ट आउन बाँकी नै छ । तर अहिले हेर्दा भने दुई÷तीन महिनामा विस्तारै सुधार भएको भने देखिएको छ । कहिलेसम्म रहन्छ भन्ने यकिन त अध्ययनपछि नै थाहा होला ।

कोभिड–१९ ले सुरुमा फोक्सोमै असर गर्छ । किनकी, फोक्सो तथा दमका बिरामीको फोक्सोको केही भाग पहिले नै खराब भइसकेको हुन्छ । यस्ता बिरामीलाई कहिलेकाहीँ घरमै पनि अक्सिजनको आवश्यकता परेको हुन्छ । यस्ता बिरामीलाई कोभिड–१९ संक्रमणको पहिलो चरणमै निकै समस्या हुन्छ । आइसियुसम्म जानुपर्ने हुन्छ । त्यसैगरी, धूमपान गर्ने मान्छे, मधुमेह, मिर्गौलाका रोगी, दमका बिरामी, कलेजो रोगको बिरामी, क्यान्सरका बिरामीलाई बढी असर गरेको देखिन्छ । अहिले मृत्युदरको अवस्था हेर्दा पनि मिर्गौला रोगीको बिरामीको मृत्यु बढी भएको देखिएको छ ।

दीर्घरोगीले संक्रमणबाट बच्न के कुरामा ध्यान दिने ?
उहाँहरूलाई के सल्लाह छ भने, संक्रमणको समयमा दीर्घरोगीहरू घरबाहिर ननिस्केकै राम्रो हो । किनभने, दीर्घरोगीले नियमित औषधि खाने र रियलिटिभ हेल्दी रहने । रियलिटिभ हेल्दी भनेको आफ्नो स्वास्थ्य अवस्था ठिक्क कन्डिसनमा राख्ने । ज्वरो आयो, श्वास फेर्न गाह्रो भयो वा अन्य कुनै समस्या भए त अस्पताल आउनु नै प¥यो । त्यो बाहेक उहाँहरू घरबाहिर ननिस्कने ।

परिवारमा कसैलाई कोभिड भयो र त्यो व्यक्ति घरमा दीर्घरोगीको सम्पर्कमा छैन भने यस्ता रोगीलाई घरमै आइसोलेटमा राखेको राम्रो हो । के देखिएको छ भने, परिवारमा कसैलाई पोजिटिभ आएपछि दीर्घरोगीलाई परीक्षण गर्न अस्पताल ल्याउँदा संक्रमण सरेको छ । त्यसैले दीर्घरोगीमा कुनै लक्षण छैन, ज्वरो वा अन्य समस्या नभए र घरमा राख्न सम्भव भएसम्म घरमा नै आइसोलेसनमा राखेको राम्रो हो । १४ दिनसम्ममा उहाँलाई केही समस्या भएको छैन भने परीक्षण गरिरहनुपर्ने आवश्यक हुँदैन । उहाँहरूले खाइरहनुभएको औषधि नियमित खान दिनुपर्छ । खाना मिलाएर स्वस्थ खाना र आराम गर्न दिनुपर्छ । बिरामीको फलोअपको समय भएको छ वा औषधि थपघट गर्नुपर्ने हो भने आफूलाई धेरै समस्या भएको छैन भने आफू नगएर परिवारका अन्य सदस्यलाई चिकित्सकलाई भेट्न पठाउने वा चिकित्सकलाई फोन सम्पर्क गर्नुपर्छ ।

मैले मेरा पुरानो बिरामीलाई फोनमा र भाइबरमा सोध्न भनेको छु । उहाँहरूलाई त्यहीँबाट परामर्श दिने गरेको छु । त्यसले गर्दा संक्रमणको सम्भावना कम हुन्छ । कोरोना भाइरस अझै केही समय हामी माझ रहन्छ । तर, हामीले सधैँ कोरोना भनेर घर बसेर पनि हुँदैन । अहिले पनि पूरै खुलेको वा बन्द भएको अवस्था पनि होइन । न्यु नर्मलको अवस्था हो । अब हामीले न्यु नर्मलमा बाँच्नका लागि पुरानो व्यवहार सच्याउँदै जनस्वास्थ्यको मुख्य मापदन्ड अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र नियमित हातको सरसफाइ गर्नैपर्छ ।

यो समयमा सामान्य मान्छे भन्दा वुद्धवृद्धालाई बचाउनु छ । यो समयमा संक्रमितसँगै वृद्धावृद्धालाई आइसोलेसन गर्नुपर्छ । यदि घरमा वृद्धवृद्धा हुनुहुन्छ भने उहाँहरूलाई नजिकबाट नभेटेको राम्रो हुन्छ । केही कुरा गर्नुप¥यो भने टाढैबाट गरेको राम्रो हुन्छ । त्रिवि शिक्षण अस्पतालले कुन दीर्घरोगीलाई बढी असर देखिएको छ, कसको मृत्यु कति प्रतिशत भएको छ भन्ने अध्ययन गरिरहेको छ । त्यसको प्रतिवेदन चाँडै प्रकाशित हुनेछ । अहिले डाटा इन्ट्री हुँदैछ । त्यसको प्रारम्भिक अध्ययनमा पनि फोक्सोका बिरामी सबैभन्दा बढी असर गरेको देखिएको छ ।

प्रतिक्रिया