वर्षौंपछि सुस्तावासीमा आएको खुसी

नवलपरासी । वर्षौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अवस्मिरणीय दिन बन्न पुगेको छ । अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारि रहेको परासीको सुस्ता क्षेत्रका वासिन्दा पहिलोपटक दीपावलीको दिन सौर्य ऊर्जाबाट विद्युत् सुविधा प्राप्त गरेपछि रातभर नाचगान र खुसियालीमा बिताएको बताउँछन् ।

मटितेलको टुकी र सोलारको सानो टुकी बाल्दै आएकी सकिला खातुन ठूलो क्षमताको सोलार बत्ती बाल्न पाउँदा हर्षले गद्गद् हुँदै भन्छिन्, ‘जीवनमा पहिलोपटक यति उज्यालो देख्न पाउँदा मलाई त रात पनि दिनजस्तै भएको छ ।’ राम्ररी नेपाली भाषा बोल्न पनि असजिलो मान्ने उनलाई अहिले हरेक दिन दीपावली जस्तै लागेको छ ।

पहिलोपटक गाउँमा बिजुली बलेका अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशियाली मनाएका थिए । ‘विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ’, सुस्ताका अरबिन्द कुर्मीले भने, ‘बिजुली बलेपछि गाउँ नै झलमल भएको छ, सबैमा खुसियाली छाएको छ ।’ बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने कुर्मीले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ छ । उपभोक्ताले प्राधिकरणकै दरमा महसुल तिर्न सक्नेछन् ।

हिजो अन्धकारले ढाकिएको यो क्षेत्र घरघरमा जडान भएका बत्ती र सडक, गल्लीमा पनि निर्माण गरिएको सडक बत्तीले सुस्तालाई टाढैबाट सहर बजारजस्तै झलमल्ल देख्न सकिन्छ । रातको समयमा सीमावर्ती गाउँबाट आउने चोर, तस्करहरूको सास्ती भोग्दै आएका उनीहरू उज्यालोसँगै सुरक्षित भएको अनुभव गर्न थालेका छन् । रातको समयमा सर्पको टोकाइको समस्या पनि कम हुने विश्वास गर्छन्, स्थानीय शंसे आलम खाँ । उनी भन्छन्, ‘सौर्य विद्युतीकरणले उज्यालोको सुविधाका साथै विभिन्न स–साना उद्योगधन्दा सञ्चालन गरेर युवालाई गाउँमै रोजगारीको अवसर मिलेको छ ।’
पटकपटक भारतीय अतिक्रमणमा परेर चर्चामा रहँदै आएको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रशारण लाइन पु¥याउन असहज हुँदा यहाँका नागरिक वर्षौंदेखि टुकीको भरमा जीवन बिताउँदै आएका छन् । आफ्नै भूमिमा जान पनि भारतीय भू–भाग प्रयोग गरी नारायणी नदीमा डुंगाको जोखिमपूर्ण यात्रा गरेर मात्र जानुपर्ने बाध्यता छ । परियोजनाबाट उत्पादित विद्युतले गाउँपालिकाका सम्पूर्ण घरधुरीमा विद्युतीकरण हुनुका साथै सर्पदंश उपचार केन्द्र तथा अन्य उत्पादनशील ऊर्जा उपयोगका क्षेत्रमा समेत विद्युत्को व्यावसायिक उपयोग गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा गाउँपालिकामा निर्माण गरिएको सय किलोवाट क्षमताको सौर्य मिनीग्रिड परियोजनामार्फत यहाँका २ सय ६६ घरधुरीका बासिन्दाले विद्युत् सुविधा प्राप्त गरेका हुन् । कूल आयोजना लागत ४ करोड ८० लाख ९२ हजार २ सय ६८ रहेको सो आयोजनामा केन्द्रको अनुदान २ करोड ८८ लाख ५५ हजार ३ सय ६१ (६० प्रतिशत), तराई–मधेस समृद्धि कार्यक्रमको १ करोड ७५ लाख (३६ प्रतिशत) तथा गाउँपालिकाको १७ लाख ३६ हजार ९ सय ७ (४ प्रतिशत) लगानी रहेको छ । विश्वस्तरीय स्मार्ट प्रविधि प्रयोग गरी निर्माण गरिएको यस आयोजनाबारे मोबाइलबाटै जुनसुकै स्थानबाट जानकारी लिन सकिनेछ ।

नेपाल सरकारद्वारा उज्यालो नेपाल अभियानअन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी तीन वर्षभित्र सबै नेपालीका घरघरमा विद्युत्को पहुँच पु¥याउने लक्ष्यअनुसार यस सौर्य मिनि ग्रिड परियोजना निर्माण गरिएको हो । सोही अभियानअन्तर्गत सुस्तामा मिनी ग्रिड निर्माण गरिएको केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए । यस आयोजनाबाट विद्युतीकरणसँगै अन्य उद्योगधन्दा सञ्चालन गर्न सकिने र भविष्यमा ऊर्जा अपुग भएमा थपसमेत गर्न सकिने उनको भनाइ छ ।– रासस

प्रतिक्रिया