कोरोना परीक्षणमा अनिइच्छुक नागरिक

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि काठमाडौं उपत्यकाका बासिन्दा अनिइच्छुक देखिएका छन् । उपत्यकामा रहेको संक्रमणमा कमी नआएपछि सरकारले सुरु गरेको ‘एन्टिजेन’ परीक्षणमा स्थानीय नै परीक्षण नआएपछि तत्कालका लागि स्थगित गरेको छ । परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि दुई दिनमै ‘एन्टिजेन’ परीक्षण स्थगित गरेको हो । सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो । तर, मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द भएको छ । दैनिक तीन हजारको परीक्षण गर्ने लक्ष्य भए पनि दुई दिनमा मुस्किलले १ हजार ५ सय जनाको मात्रै परीक्षण गरिएको थियो ।

परीक्षणमा उपत्यकाका सर्वसाधारण नै सहभागी नभएपछि के गर्ने भन्नेमा अन्योलता देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ‘एन्टिजेन’ परीक्षणमा मानिसहरूको आकर्षण नभएको भन्दै अब थप छलफल गरेर मात्र परीक्षण पुनः सुरू गरिने जानकारी दिए । ‘सुरूमै तीन हजार जनाको परीक्षण गर्ने भनिएको थियो तर १५ सय जनाको मात्र गरियो । फिल्डमा गएर बुझ्दा मानिसहरूको परीक्षणमा आकर्षण देखिएन,’ उनले भने ।

महाशाखाकाअनुसार सर्वसाधारणमा पोजेटिभ देखिएपछि १४ दिन होमआइसोलेसनमा बस्नुपर्ने बाध्यताले गर्दा परीक्षणमा सहभागी नभएको आशंका गरेको छ । निर्देशक पाण्डे पनि सो कुरामा सहमति राख्दछन् । ‘पोजेटिभ आएर पनि घरमै बस्नुपर्ने रै’छ भनेर किन परीक्षण गर्न जाने भन्ने मानिसहरू पनि भेटिए’, उनले भने । साथै, मानिसहरूमा पोजेटिभ देखिहाले त्यसले उनीहरूको दैनिक काममा पनि असर गर्ने हुँदा परीक्षण गराउन नआएको उनको बुझाइ छ ।

उनले पहिलेजस्तो परीक्षण गराउन मानिसहरूको भिडसमेत नहुने गरेको जनाए । यसको कारण मानिसहरूमा रोगसँगको डर कम हुँदै गएको उनी औँल्याउँछन् । ‘पहिला मानिसहरू थुरथुर हुन्थे । अहिले त्यो डर कम भयो । पहिले परीक्षण गर्न जाँदा जति भिड हुन्थ्यो त्यो अहिले छैन,’ उनले भने । परीक्षण गराउन मानिसहरूको सक्रियता नदेखिएपछि महाशाखाले अब कसरी अगाडि बढ्ने भनेर थप छलफल गर्ने भएको छ । दुई दिनमा १५ सय जनाको परीक्षण गर्दा १ सय २० जना अर्थात् जम्मा आठ प्रतिशतमा पोजेटिभ देखिएको थियो । सरकारले गत सोमबारबाट दुई दिनमा उपत्यकाको ’हटस्पट’ को रूपमा देखिएका १८ ठाउँहरूमा परीक्षण गरेको थियो ।

सरकारले कम्तिमा पनि एक लाख जानको ‘एन्टिजेन’ परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने अन्योलता सिर्जना भएको छ । अब परीक्षणलाई थप प्रभावकारी बनाउन ‘रिच कम्युनिकेसन’ मा काम गर्नुपर्ने पाण्डेको बुझाइ छ । विज्ञहरूले भने ’एन्टिजेन’ परीक्षण विश्वसनीय नभएको भन्दै यसलाई प्रयोग गर्न नहुने बताउँदै आएका छन् । निर्देशक पाण्डेले भने पिसिआर जतिको प्रभावकारी नदेखिए पनि ‘एन्टिजेन टेस्ट’ लाई विश्व स्वास्थ्य संगठन र अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ले स्वीकृति दिएका कारण प्रयोगमा ल्याइएको बताए ।
सक्रिय संक्रमित १५ हजार कम
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ । गएको २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना संक्रमित निको भएसँगै सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमित भएका मध्ये २ लाख २४ हजार ५३ जना निको भइसकेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण भएसँगै कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ६ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

प्रतिक्रिया