कोलम्बो दोस्रो स्थानमा उक्लियो

कोलम्बो । श्रीलंका प्रिमियर लिग (एलपीएल) मा लगातार चार खेल जित्दै उत्कृष्ट सुरुवात गरेको थिरा परेरा कप्तानीको जाफ्ना स्टालियन्सको अपराजित यात्रा टुङ्गिएको छ । गएराति भएको खेलमा एन्जेलो म्याथ्युजको कप्तानीमा रहेको कोलम्बो किंग्सले जाफ्नालाई ६ विकेटले पराजित गरेको हो । जितपछि चार खेल खेल्दा तेस्रो जित हात पारेको कोलोम्बो ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । खम्बुला भाइकिङ समान अंक भएपनि कोलम्बो रनरेटमा अघि छ । पहिलो हार व्यहोरेको जाफ्ना भने ५ खेलबाट ८ अंकसहित अझै शीर्ष स्थानमा यथावत छ ।

हमबानटोटा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिनेश चन्डिमलले उत्कृष्ट ब्याटिङ गरेपछि कोलम्बोले जाफ्नाबाट पाएको १४९ रनको लक्ष्य १९.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । ओपनर चन्डिमलले १ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए । यस्तै आन्द्रे रसेलले २० बलमा २ चौका ३ छक्काको मद्दतमा ३२ रन जोडे । जाफ्नाका लागि वानिन्दु हसारंगाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । जाफ्नाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका वानिन्दु हसारांगाले सर्वाधिक ४१ रन बनाए । हसारांगाले २३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै ओपनर अभिस्का फर्नान्डोले २६ र मिनोद भानुकाले २१ रन जोडे ।
बलिङमा कोलम्बोका लागि क्वाइज अहेमदले ३ तथा दुसमन्था चमिराले २ विकेट लिए ।

प्रतिक्रिया