सेवा प्रवाहमा दुर्गम पालिका अगाडि

जाजरकोट । सात स्थानीयतह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले ५० मा ३८ अंक ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै नलगाड नगरपालिकाले दोस्रो र भेरी नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

अन्य छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाको सेवा प्रवाह कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । सुरक्षित सुत्केरी गराउने दरसमेत अन्य पालिकाभन्दा बढी रहेको छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका तेस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्यांकले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका दोस्रो आएर अघिल्लो वर्षको भन्दा सेवा प्रवाह राम्रो भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो । नियमित गर्भजाँच गर्नेको संख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका–१२ का मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।

जाजरकोटमा आर्थिक वर्ष २०७६÷७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्यांक सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९ दशमलव ३, कुशे ६६ दशमलव ३, जुनिचाँदे ३१, छेडागाड ५० दशमलव ४, शिवालय ७ दशमलम ७, नलगाड ६६ दशमलव ७, भेरी ५० दशमलव १ प्रतिशत अंक ल्याएका छन् । स्वास्थ्य विभागले गरेको लक्ष्य नजिक बारेकोट गाउँपालिका पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्यांक फोकल व्यक्ति टेकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य विभागले ४ हजार ६६ महिलाले सुरक्षित सुत्केरी स्वास्थ्य संस्थामा आएर हुने लक्ष्य राखे पनि २ हजार २ सय ८१ महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएको तथ्यांक सार्वजानिक भएको छ ।

बारेकोट गाउँपालिकामा ४ सय २८ लक्ष्यमा ४ सय २५, कुशे गाउँपालिकामा ४ सय ८३ लक्ष्यमा ३ सय २०, जुनिचाँदे गाउँपलिकामा ५ सय ४ लक्ष्यमा १ सय ५६, छेडागाड नगरपालिकामा ८ सय २८ लक्ष्यमा ४ सय ५२, शिवालय गाउँपालिकामा ३ सय ६३ लक्ष्यमा २८, नलगाड गाउँपालिकामा ६ सय ६ लक्ष्यमा ४ सय ७, भेरी नगरपालिकामा ८ सय ५४ लक्ष्यमा ४ सय ९३ जना मात्र सुरक्षित सुत्केरी भएको तथ्यांकमा उल्लेख छ । आव ०७५÷७६ मा ४६ दशमलव ९ प्रतिशत महिला सुरक्षित सुत्केरी भएका थिए । अघिल्लो वर्षभन्दा ९ दशमलव २ प्रतिशतले सुरक्षित सुत्केरीदर बढेको छ ।
००००

प्रतिक्रिया